श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

अदूरदर्शी प्रधानमन्त्री ओली 



काठमाडौं । राजनीतिज्ञमा दूरदर्शी क्षमता हुनुपर्छ । उनीहरुले लिने निर्णय मुलुक र जनताको भविष्यसँग जोडिने भएकाले दूरदर्शी क्षमता आवश्यक पर्छ । आफू अनुकुलभन्दा पनि राष्ट्रहितका लागि राजनीतिज्ञले निर्णय लिनुपर्ने हुन्छ । उनीहरुको एक गलत कदमका कारण मुलुकले ठूलो मुल्य चुकाउनु पर्ने हुन्छ । अहिले ठीक यस्तै नेपाली राजनीतिमा देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमा अदूरदर्शी क्षमता देखिएको छ । 

२०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको घोषणा गर्दा जनतालाई विश्वास दिलाएका ओलीका अभिव्यक्ति अहिले गलत सावित भएको छ । राजनीतिक स्थायित्व तथा मुलुकको विकास र समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्न लागेको घोषणा गर्दै ओली र पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनम आफूहरुलाई मत दिन जनतालाई अपील गरेका थिए । 

उनीहरुको अपीलअनुसार जनताले पनि एमाले र माओवादीलाई दुई तिहाइ नजिक बहुमत दिए । सोही मतका आधारमा २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री बने । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरणको औपचारिक घोषणा गर्दै नेकपा गठन गरेको जनतालाई जानकारी दिए । 

तर, यसको साढे दुई वर्षमै नेकपा विभाजित भयो । सत्तामा पुग्न ढाँटेर जनतालाई भर्‍याङ बनाएको अहिले पुष्टि भएको छ । यतिमात्रै होइन ओली र प्रचण्ड तल्लोस्तरमा झरेर एकअर्कामाथि टिप्पणी गरिरहेका छन् । 

माओवादी युद्धताका तथा शान्ति प्रक्रियाका बेला माओवादी र प्रचण्डको खरो आलोचकको परिचय बनाएका ओलीले प्रचण्डसँग गरेको अंकमाल देखावटी रहेको भन्दै टिप्पणी भएको थियो । पार्टी एकीकरणको घोषणादेखि केही महिना अघिसम्म प्रचण्डको गुनगान गाएका ओली अहिले रातारात उनलाई राक्षसीकरण गर्न उद्दत देखिन्छन् ।

केही दिनयता भइरहेको सभाहरुलाई सम्बोधन गर्ने क्रममा अधिकांश समय प्रचण्डको टिकाटिप्पणीमा खर्चिने गरेका ओलीले साढे दुई वर्ष पनि नटिक्ने पार्टी एकता गरेर जनतालाई धोका दिएकोमा क्षमा माग्नसमेत सकेका छैनन् । 

नेकपा नफुट्ने, फुटाउन खोज्नेको योजना असफल हुने, माओवादी युद्धको मौन समर्थन गरेका ओली अहिले सोही विषयलाई लिएर प्रचण्डमाथि खरो टिप्पणी गरिरहेका छन् । प्रचण्डको स्वभाव र राजनीतिक चरित्र बुझेका ओलीले साढे दुई वर्षमै जनताको मतलाई अपमान हुने अवस्था आउनेबारे किन अनुमान लगाउन सकेनन् ? एक सफल राजनीतिज्ञमा हुने राजनीतिक दूरदर्शीता ओलीमा नदेखिएको पार्टी एकता र प्रतिनिधि सभा विघटनका यी दुई घटनाले पुष्टि गर्छ । 

लोकतान्त्रिक र संसदीय पद्दतिमा प्रधानमन्त्रीले संसद प्रति उत्तरदायी हुनुपर्ने हुन्छ । यदी राम्रो काम नगरेको सांसदहरुलाई लागेमा उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक अधिकार हुन्छ । तर, सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गर्दा संघीय संसदको चालु अधिवेशन अन्त्य गराएका ओलीले अन्ततः प्रतिनिधिसभा नै विघटन गरेर चुनावको मिति घोषणा गरेका छन् । 

कोरोनाविरुद्धको खोप ल्याउन पैसा जुटाउन नसकेको सरकारले अब चुनावका लागि अर्बाैं रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । ओली र प्रचण्डको अदूरदर्शी क्षमताका कारण मुलुकले ठूलो आर्थिक बोझ बोक्नुपर्ने भएको छ ।

प्रकाशित मिति : पुस २०, २०७७ सोमबार  ७ : ०७ बजे