श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

प्रचण्ड–नेपाल समूह त्रासमा 



काठमाडौं । प्रतिनिधि सभा विघटन गरिएपछि सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटन गर्नुको औचित्य पुष्टि गर्न प्रयास गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा मुलुक अघि बढेको दाबी गरिरहेका छन् । 

यता नेकपाकै अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रिएको दाबी गरेको छ । तर, केही दिनयता भइरहेका राजनीतिक घटनाक्रम र नेताहरुको अभिव्यक्ति हेर्ने हो भने प्रचण्ड–नेपाल समूह पनि अब प्रतिनिधि सभा पुनर्गठन नहुने निष्कर्षमा पुगिसकेको छ । यसर्थ ऊ पनि आगामी निर्वाचनको तयारीमा जुटेको छ । 

यसलाई ध्यानमा राखेर नेताहरुको अभिव्यक्ति सार्वजनिक भइरहेको छ । हालै काठमाडौंमा आयोजित सभामा प्रचण्ड, नेपाल, झलनाथ खनालसहितका नेताहरुले प्रतिनिधि सभा विघटनभन्दा पनि ओलीको चरित्रमाथि प्रहार गरेका थिए । प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्ने आवाज उठाउनुभन्दा पनि प्रधानमन्त्री ओलीको राजनीतिक र व्यक्ति चरित्र र प्रवृत्तिमाथि नेताहरुले टिप्पणी गरेका थिए । 

हालै एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदा प्रचण्डले अबको निर्वाचनमा कांग्रेस पहिलो हुने र आफूहरु दोस्रो स्थानमा आउने बताएअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचनको तयारीमा जुटेको प्रष्टिन्छ । 

प्रजातन्त्रदेखि गणतन्त्रसम्म : ३० वर्षमा २६ वटा प्रधानमन्त्री, पाँचपटक संसद् विघटन प्रजातन्त्रदेखि गणतन्त्रसम्म : ३० वर्षमा २६ वटा प्रधानमन्त्री, पाँचपटक संसद् विघटन

तर, चुनावमा जाँदा ओली समूहसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सोही अनुसारको उम्मेदवार आवश्यक पर्नेछ । ओलीको कदम मुलुक र जनताको अहितकर रहेको जनतालाई बताउँदा आफूहरुसँग सोही किसिमको ठूला नेताहरु आवश्यक पर्ने भएकाले प्रचण्ड–नेपाल समूह नेता जोगाउनु पर्ने अवस्थामा आइपुगेको छ । 

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहका ठूला र प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा ल्याउँदै मन्त्रीसहित लाभको पद दिन थालेपछि प्रचण्ड–नेपाल समूह त्रासमा परेको छ । पूर्वमाओवादीका ठूला नेताहरु ओली समूहमा रहेका छन् । विशेषगरी रामबहादुर थापा बादल अन्तिममा आएर ओली समूहमा गएका छन् । उनी गृहमन्त्रीमा दोहोरिएका छन् । प्रभु साह, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतका पूर्वमाओवादीका नेताहरु ओली समूहमा गएका छन् । 

सँगै पार्टी एकताको पहल 

चुनावमा प्रभाव पार्ने नेताहरुलाई ओली समूहले लैजान थालेपछि प्रचण्ड–नेपाल समूह त्रासमा परेका बेला फेरि हालसम्म तटस्थ देखिएका उपाध्यक्ष वामदेव गौतम पार्टी एकताको पहलम जुटेका छन् । 

शुक्रबार प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डसँग पार्टी एकताको विषयमा कुराकानी गरेका छन् । हालै काठमाडौंमा भएको सभामा पनि प्रचण्डले पनि पार्टी एकता सम्भव रहेको भन्दै संसद पुनर्स्थापन गर्नुपर्ने सर्त राखेका थिए ।

बिहीबार ओलीनिकट नेतासमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्ड–नेपाल समूहलाई पार्टी एकताका लागि आह्वान गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि पार्टी एकता हुन सक्ने बताइरहेका छन् ।

तर, राजनीतिक विश्लेषकहरु यथास्थितिमा नेकपाको एकता असम्भव रहेको बताउन थालेका छन् । हालै चीनबाट भएको उच्चस्तरीय भ्रमण टोलीले प्रचण्डलाई नेपालमा कम्युनिष्टको नेतृत्व गर्नुपर्ने बताउँदै नझुक्न सुझाव दिएको राजनीति क्षेत्रमा अहिले चर्चा चलिरहेको छ । 

 

प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार  ११ : २४ बजे