श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

‘नेकपा विभाजन रोक्न प्रचण्डले भारतसहित युरोपेली मुलुक गुहारे’



काठमाडौं । नेपालबारे भ्रमपूर्ण समाचार दिँदै आएका भारतीय सञ्चार माध्यमहरुले हालै भएको प्रतिनिधि सभा विघटन र यसपछि उत्पन्न राजनीतिक अवस्थाबारे सनसनीपूर्ण समाचार प्रकाशित गरेका छन् ।

यही क्रममा नवभारत टाइम्सले नेकपा विभाजन रोक्न पुष्पकमल दाहाल प्रचण्डले भारतसहित युरोपेली मुलुक र अमेरिकासँग सहयोग मागेको समाचार प्रकाशित गरेको छ । 

नक्सा जारी गर्दा बखत नेपालबारे अफवाहपूर्ण समाचार प्रकाशित गरेको केही भारतीय सञ्चार माध्यमहरुले अहिले पनि नेपालको वास्तविक राजनीति अवस्थाभन्दा फरक तरिकाले समाचार सम्प्रेषण गरिरहेका छन् । 

‘प्रचण्ड’लाई उद्धृत गर्दै नेकपाको विभाजन रोक्न भारतलगायत युरोपेली मुलुक र अमेरिकासँग सहयोग मागेको समाचार नवभारत टाइम्सले प्रकाशित गरेको हो । 

nawabharat- prachanda.jpg

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालगायत पार्टीका शीर्ष नेताहरूसँग भेटले पनि विभाजन रोक्न नसकेपछि प्रचण्डले भारतसहितका मुलुकसँग सहयोग मागेको नवभारत टाइम्सले दावी गरेको छ । तर, प्रतिनिधि सभा विघटनपछि प्रचण्डले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेट गरेका छैनन् । 

नवभारत टाइम्सले नेकपाको विभाजन रोक्न चिनियाँ राष्ट्रपति सी जिनपिङले एउटा उच्चस्तरीय प्रनिनिधिमण्डल काठमाडौं पठाएको समाचारमा उल्लेख गरेको छ । तर, सो टोलीसँगको भेटपछि प्रचण्डले भारतसँग सहयोग मागेको दाबी गरेको छ । 

हालै कान्तिपुर टेलिजिनको फायरसाइड कार्यक्रममा प्रचण्डले प्रतिनिधि सभा विघटनबारे भारतसहितका मुलुकहरु मौन बसेको भन्दै आश्चर्य व्यक्त गरेका बेला नवभारत टाइम्सले सो समाचार प्रकाशित गरेको हो । 

प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार  ११ : ४३ बजे