• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

कोरोना र चाडपर्वबारे गाउँमा रहेका हरेक बुवाआमालाई पत्र  - रवीन्द्र समीर 

आश्विन १८ २०७७
  • 2.9K
    SHARES
  • images
    images
    कोरोना र चाडपर्वबारे गाउँमा रहेका हरेक बुवाआमालाई पत्र  - रवीन्द्र समीर 

    काठमाडौं  -  नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा। रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यस्तै आइतबार डा। रवीन्द्र पाण्डेले कोरोना र चाडपर्वबारे गाउँमा रहेका हरेक बुवाआमालाई पत्र लेखेका छन् । 

    images

    उनको पत्र यस्तो छ - 

    पूजनीय बुवाआमा, ढोग छ ।

    कुशल छु, कुशलताको कामना गर्दछु ।
     
    काठमाडौ उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ । जहाँ टेस्ट गर्यो, जसलाई टेस्ट गर्यो अधिकांशको पोजिटिभ देखिएको छ । हाम्रो सुर्के पाटोभन्दा साँघुरो छ, परीक्षणको दायरा । त्यसैले हामीलाई पनि संक्रमण भएको छ कि छैन ? थाहा छैन । कमिलाको गोलोजस्तो काठमाडौ कोरोना महामारीको केन्द्रबिन्दु बनेको छ । यो गोलोमा संक्रमण फैलियो भने के अवस्था हुन्छ, हजुरहरुलाई बिदितै छ । काठमाडौजस्तो शिक्षित, सुबिधायुक्त तथा संचार साधनले भरपुर ठाउँमा कोरोना फैलिदैन भन्नुहुन्थ्यो हजुरहरुले । त्यो सत्य होइन रहेछ । यहाँका धेरै मान्छेले सहि तरिकाले मास्क लगाउंदैनन्, व्यक्तिगत दुरी कायम गर्दैनन्, भीडभाड गर्छन्, बिना कारण लखरलखर हिंड्छन् । सबैले सोंच्छन – ‘ कोरोना मलाइ सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन ... यो त अरुले गर्नुपर्छ |’ सरकार पनि गजबको छ ।

    अनिबार्य र सहि तरिकाले मास्क लगाएको / नलगाएको सरकारलाई थाहा छैन, दुरी तथा भीडभाडको पनि मतलब छैन । अरु देशमा जस्तै अनुगमन, निगरानी र जरिवानाको ब्यबस्था गरेको भए अहिले यो स्थिति आउने थिएन । अरु देशमा कसरी महामारी नियन्त्रण भयो ?  कसरी कडाइ गरे  ? जनता कति अनुशाशित छन् ? सरकारले जनतालाई राहत र सहुलियत कसरी प्रदान गर्यो ? यी कुरा कसैले पनि बुझेन। हजुरलाई किन झुट बोल्नु, भान्सामा काम गर्नेलाई सपासप खाएको बात लागेको छ | भान्सामा बात लागेकालाई खेतबारीमा खटाए हुन्थ्यो नि  
    यो दशैंमा रातिको नाइटबस चढेर घर आउने, हजुरहरुसंग मोबाइल स्विच अफ गरेर कुराकानी गर्ने, बाल्यकालमा आफु दौडिएका / पौडिएका ठाउँमा पुग्ने, साथीभाइलाइ भेट्ने, कोटहरुमा मेला हेर्ने, मान्यजनको हातबाट टिका आशिर्बाद लिने, जिब्रोको भित्रि तहमा बसेको स्वादलाई अर्गानिक खानेकुराले ब्युँताउने .... धेरै सपना थिए । यसपटक कोरोनाले बाटो छेक्यो । बसमा कोरोना सर्ने खतरा मोलेर त्यहाँ आउँदा हजुरहरु, अन्य मान्यजनलाई कोरोना सार्ने काम हुन्छ कि भनेर म नआउने बिचार गरेको छु । भिडियो कलमा टिका लगाइदिनुहोला, कान थाप भन्दै जमरा लगाइदिनुहोला, आशिर्वाद सुन् भन्दै आशिर्बाद दिनुहोला । यो यो खा भन्नुहोला, हामी त्यहि खानेछौँ । इन्टरनेटले धोका दिए मोबाइल फोन छदैछ, त्यसले टावर टिप्न सकेन भने मनमनै आशिर्बाद दिनुहोला । आज हो कि भोलि भन्ने जगजगीमा यहाँ बस्न एकदम डरमर्दो छ । १ बर्ष ढुक्क गाउँ बस्न पाए त यो कोरोनाको टेन्सन नै हुने थिएन । आफ्नो काम, घर, हजुरका नातिनातिनाका पढाइ आदिले गर्दा आगोभित्र बस्नुपर्ने बाध्यता भयो । अर्को साल पहिले खोप लगाउँला अनि दशैंको टिका लगाउँला ।
     
    खै ! म लेख्छु भन्नुभयो दाइले –
     
    पूजनीय बुवाआमा, ढोग छ ।
    म जेठो छोरो ।
     
    बुवाआमा, भाइले  लेखेको कुरामा मेरो पनि सहिछाप छ । हजुरहरुलाई थाहा छ, मलाइ प्रेसर, सुगर, कोलेस्टेरोल छ। कोरोनाले छोयो भने गाह्रो पार्ला जस्तो छ। अहिल्यै यहाँका अस्पताल भरिभराउ भए । अस्पतालमा खुट्टो राख्न नपाउने अवस्था आयो । मेरो ब्यापार पनि चलेको छैन । लकडाउन र कोरोनाको डरले गर्दा मान्छेसँग पैसा नै छैन। 

    ज्यानभन्दा ठूलो केहि होइन। मेरो परिवार १ बर्ष बस्ने गरि आउछौं । केटाकेटी ठूला भए, आफ्नो मेसो गर्न सक्छन् । म र हजुरहरुकी बुहारी आउने निर्लय गर्यौं । चिन्ता नगर्नुहोला, बसमा राम्रो मास्क लगाएर, फेस शिल्ड लगाएर, हातमा पंजा लगाएर, स्यानिटाइजर प्रयोग गर्दै, पानी र खानेकुरा घरबाटै लिएर तथा बस रोकेको ठाउँमा अलिपर गएर खानपिन गर्दै आउनेछौं । बाहिरका असुरक्षित खाजा पसल र खाना पसलमा केहि खाने छैनौं । बसभित्र सकेको धेरै दुरी कायम गर्नेछौं । उस्तै परे प्लास्टिकले छेकेर हाम्रो सिटलाई क्याबिन बनाउनेछौं । घरमा आएपछि हामी छुट्टै कोठामा बस्नेछौं । हजुरहरुसंग ४ हात टाढा बसेर मास्क लगाएर गफ चुट्नेछौं । २ हप्तापछि मात्र गाउँमा डुल्नेछौँ तथा हजुरहरुसंग अगेनामा बसेर बात मार्नेछौँ । केहि लक्षण देखिएमा पालिकामा गएर टेस्ट गर्नेछौं । बिजनेस, ब्यापार, पैसो भन्ने कुरा पनि त्यस्तै रहेछ । ज्यान रहे न सबै आफ्नो हो । त्यसैले हामीले ज्यान रोजेर गाउँमा आउने भयौं । के थाहा, आधुनिक खेतीपाती, कुखुरा तथा बाख्रापालन गरेर त्यहिं पो मालामाल हुन्छ कि ? त्यसो भयो भने यो कमिलाको गोलोमा फर्किने बिचार छैन ।
     
    मलाइ ले त ! अब दिदीको पालो – 
     
    पूजनीय बुवाआमा, दर्शन ।
     
    कोरभन्दा कोरोना खतरा रहेछ । यो खाल्डे काठमाडौमा जेनतेन ज्यान पालेका थियौं | भाडा, लोन र स्टाफ खर्चले हामी पुरै डुबेका छौं । धेरै घाटा लाग्यो । एक दुईबर्ष यस्तै हुन्छ । हामीले मिल्ने कुरा बेचबिखन गर्दैछौं । हजुरका ज्वाईंले तराइको आफ्नै घरमा बस्ने, ब्यापार गर्ने र केटाकेटीलाई उतै पढाउने ब्यबस्था गर्दै हुनुहुन्छ । ट्रक भाडामा लिएर खेतखेतका तरकारी, फलफुल, अण्डा, दुध आदि सहरमा पुर्याएर बेच्ने काम गर्ने रे ! 
     
    १५ बर्ष काठमाडौ बस्यौं, सधैको धुलो, धुँवा, पानीको अभाव, ट्राफिक जाम र अस्तव्यस्त देखेर वाक्क लागेको थियो । अब आफ्नै ठाउँमा बस्ने, शुद्ध हावा, पानी, खाना खाने निर्णय गर्यौं । दशैँ तराइमा मनाउछौं, तिहारमा त्यहाँ आउनेछु । तिहार पनि मास्क लगाएर, दुरी कायम गरेर तथा सरसफाईको ख्याल गरेर मनाउने छौं । केटाकेटीले देउसीभैलो खेल्ने छैनन् । उहाँले यसपटकको छठमा पनि यस्तै सुरक्षा सतर्कता अपनाएर मात्र मनाउने योजना गर्नुभएको छ । सहरबाट आएका मान्छेसंग जोगिएर बस्नुहोला । कोरोना छ कि छैन भनेर निधारमा लेखेको हुँदैन ।
     
    बहिनीले पनि लेख्ने रे !
     
    पूजनीय बुवाआमा, दर्शन ।
     
    कोठामा बस्दा बस्दा वाक्क लाग्यो । बाहिर निस्किन डर लाग्छ । नाकमुनी, च्युँडोमा तथा घांटीमा मास्क लगाएर हिंड्छन्, यताका मान्छे । व्यक्तिगत दुरीको मतलब छैन । तरकारी बजारमा बसेर एउटा एउटा छाम्दै गोलभेंडा किन्दै गर्छन् । जहाँ गयो, त्यहि भीड छ। न जनतालाई मतलब छ, न सरकारलाई । हाम्रो टोलमा धेरैलाई कोरोना लागिसक्यो । यति मात्र हो र ? कोरोना लागेका मान्छे २ हप्ता कोठाभित्र अनिबार्य बस्नुपर्नेमा पसल जाने, मार्निंग वाक गर्ने, दोकानमा बसेर सामान बेच्ने, रोग लुकाउने, सार्वजनिक यातायातमा चढ्ने .. बेथिति छ । कसैलाई कसैको डर छैन । सरकारले हरेक ठाउँमा कडाइ गर्ने, सुरक्षाकर्मीको गस्ती खटाउने, जरिवाना गर्ने .. काम गरेको छैन । हाम्रो टोलमा सुरक्षाकर्मी नदेखेको २ महिना भयो । यस्तो तालले कोरोना नियन्त्रण हुँदैन । नेताहरुको पनि के दोष ? पदको लागि झगडा गर्ने, जे कुरामा पनि राजनीति गर्ने, मौका पाए कप्ल्याक्क खाने अनि चुनावको बेला जनतासंग जाने उनीहरुको नानीदेखि लागेको बानी हो । अब आफ्नो ज्यान आफै बचाऊ को नारा लगाउंदै गाउँ आउनुको बिकल्प छैन । ठूलो दादासंग म पनि आउंछु । अनलाइन क्लास गाउँमा बसेर लिनु र यहाँबाट लिनु उस्तै हो । रोग लाग्यो भने गाउँमा बरु उपचार पाइएला, यहाँ त चान्सै छैन।
    खसी, लोकल कुखुरा, अम्बा, काँक्रा, सुन्तला, कागती, अमिलो, सख्खरखण्ड खान छोडेर बिषादी खाना खान किन यहाँ बस्नु ?  यहाँ तरकारीको भाउ सुन्यो भने हार्ट एट्याक हुन बेर छैन । यहाँ कालाबजारीलाई दशैँ आएको छ, जनतालाई दशा ।
    कोरोना नियन्त्रणमा आएपछि वा खोप आएपछि काठमाडौ फर्किनुपर्ला । फुलैफुलको बगैचा छोडेर यो आगाको मुस्लोभित्र किन बस्नु ? 
     
    अब मेरो पालो –
     
    घटीमा ४-६ महिना बस्ने गरि गाउँ जाँदा राम्रो हुन्छ । म जस्तो टिका लगाएर फर्किनुपर्नेलाई जोखिम किन लिने ? जो जहाँ छ, त्यहिं बस्दा राम्रो । हाम्रो चिन्ता नलिनुहोला, हामी घरभित्र बस्छौं । दशैंलाई पुग्ने सामान एकैपटक किनेर राख्छौं । बाहिर निस्किनुपरे म मात्र मास्क सहि तरिकाले लगाएर, दुरी कायम गरेर निस्किन्छु । सरसफाईमा एकदम ध्यान दिएका छौं । यो पटक सपिंग गर्न जाँदा जोखिम हुने भएकोले मैले केहि पठाउन असमर्थ भएँ । आबश्यक कुरा उतै किन्नुहोला । १००० वटा कपडाका ३ पत्रे मास्क, १००० वटा साबुन र १००० वटा ह्याण्ड स्यानिटाइजर दाइसँग पठाउनेछु । दशैंमा टिका लगाइदिएर परिवार संख्या अनुसार प्रसादको रुपमा ती सामान दिनुहोला । चिया, खाजा वा खानाको प्रसाद अर्कोसालदेखि निरन्तर गरौंला ।यसपटक निधारमा अक्षता लगाउँदा संक्रमण सर्ने डर हुन्छ । तसर्थ मास्क लगाएर, ६ फिटको दुरी कायम गरेर टिका, जमरा हातमा दिनुहोला । मेलामा नजानुहोला।
     
    अन्त्यमा छोरीको पालो –
     
    हजुरबुवा, हजुरआमा, दर्शन ।
     
    यहाँ एकदम ठिक छ तर कोरोनाको डर छ । यहाँ एकदम ठिक छ तर कोठामै बस्नुपर्छ । यहाँ सबै ठिक छ तर स्कुलका साथीलाई भेट्न पाएको छैन । यहाँ एकदम ठिक छ तर अनलाइन क्लास पढ्दा वाक्क लाग्यो । यहाँ एकदम राम्रो छ तर मास्क लगाउन नजान्ने मान्छे धेरै छन् । यहाँ एकदम ठिक छ हेर्नु न ६ फिटको नजिक जान्छन् मान्छेहरु । अरु सबै राम्रो छ, कोरोनाको डर छ । यहाँ सबै ठिक छ, पिज्जा खान रेस्टुरेन्ट जान हुँदैन रे ! 

    गाउँमा त कस्तो रमाइलो हुन्छ । लकडाउन हुँदैन । खेल्ने ठाउँ धेरै छ, खानेकुरा धेरै छन्, भैंसी र मुनेमुने छन् । पिङ खेल्न पाइन्छ । टिका लगाएपछि पैसा पाइन्छ । गाउँको आकासमा जुन हुन्छ, ताराहरुको नाम हुन्छ । बाबा मामुले मानिस्यो भने म र भाइ आउने हो ।

    छ नि हजुरबुवा ! एउटा ६ फिटको लठ्ठी बनाएर त्यसको टुप्पोमा टिका, जमरा राखेर टिका लगाइदिनुहोला । दक्षिणा र खानेकुरा पनि त्यहि लठ्ठीमा झुन्डाएर दिनुहोला । हजुरलाई ढोग्ने बेला लठ्ठीको एउटा टुप्पो हजुरको खुट्टामा र अर्को टुप्पो ढोग्ने मान्छेको निधारमा राख्नुहोला ।
     
    हजुरलाई दिनदिनै सम्झिने 
    नातिनी


    आश्विन १८, २०७७ आइतवार २०:५३:२१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे
  • अर्कोसमाचार

    अभिनेत्री करिश्मा मानन्धरकाे कटाक्ष– अब नेपाली सैनिककाे "जिजस" दल "मेरि" दल हुनेछ 

    अभिनेत्री करिश्मा मानन्धरकाे कटाक्ष– अब नेपाली सैनिककाे "जिजस" दल "मेरि" दल हुनेछ 

    मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउँ । गाली खान्छु त्यो पनि थाहा छ । 

    images

    राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आन्दोलनदेखि हो ! त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कंदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटि पिटि मारेका थिये त्यो देखेर ।

    त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको डोब त्यो बाटो हिँड्दा एक्छिन टोलाएर हेर्ने गर्थें र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ।

    शान्ति ।

    फेरि सुरु भयो जनआन्दोलन ।

    बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो ।

    त्यसपछि त के के हो के के ? 

    दरबार हत्याकाण्ड । 

    त्यतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृतिप्रति सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा "चार जात छत्तीस वर्ण "

    हिन्दु ,बुद्धिस्ट, मुस्लिम , किँरात ,डोम, शिख  सबैले सबैको सम्मान गर्थे । पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्‍याे ।

    हाम्रो देवतालाई ढुङ्गा भन्यो । 

    हामी पञ्चतत्व पूजक हौँ , प्रकृति पूजक हौ। 

    "धर्म निरिपेक्ष " त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो ! 

    मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो ।

    २० वर्ष जति भयो ।

    अब हुँदा हुँदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ।

    भैरव , काली , शिव , गणेश , किन "गण " हरु को नाम राख्ने भन्ने कुरा आयो ।

    व्यवस्था परिवर्तन भयो ।

    भएपछी रोएल नेपाल भनिएकाहरु हटाउ । तर  हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? 

    जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ त्यस्तै हामीलाई पनि हुन्छ होलानी ।

    अहिलेको अवस्थामा २०११ को जनगणना आनुसार हिन्दुको प्रतिशत ८० प्रतिशत माथि छ ।

    हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ  । तर हेर्नू होला अबको दुईवटा जनगणना पछि हिन्दुको संख्या ८ प्रतिशत हुनेछ । 

    हाम्रो आर्मी दलको नाम " जिजस " दल "मेरि" दल हुनेछ । ( though I respect them because they are somebody’s faith )

    मन्दिरहरु १००० वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ ।

    नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्यहाँका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो । 
    म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ।

    आशा छ ८० प्रतिशत  हिन्दुहरुलाई यो सब सहन सक्ने साहस भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् ! हर हर महादेव 

    ( याे अभिनेत्री करिश्मा मानन्धरकाे निजी विचार हाे– सं.)

    fb karishma.JPG


    जेठ २८, २०७८ शुक्रवार २१:१४:३९ बजे : प्रकाशित


    करिश्मा मानन्धर

    ‘बारम्बार संविधान मिच्दा प्रधानमन्त्रीलाई लज्जा र गल्तीबोध हुँदैन ?’

  • 1.8K
    SHARES
  • ‘बारम्बार संविधान मिच्दा प्रधानमन्त्रीलाई लज्जा र गल्तीबोध हुँदैन ?’

    नारायण गाउँले । प्रधानमन्त्री केपी शर्मा ओलीजी, देश, राजनीति र सिस्टमलाई नमिठो मजाक बनाउनुभो । देशको प्रधानमन्त्रीलाई अदालतले नै पटकपटक संविधान–मिचाहा भनेर फैसला गरिरहँदा पनि तपाईंलाई अलिकति लज्जा र थोरै गल्तीबोध हुँदैन ? 

    images

    राष्ट्रपति, सभामुख, प्रदेशप्रमुख, निर्वाचन आयोग, अख्तियारदेखि अदालतजस्ता संस्था लोकतन्त्रका खम्बा हुन्, एकपल्ट हेर्नु त तिनको हबिगत । तपाईंले संविधान नै हेपेर नियुक्त गरेका मन्त्रीको अनुहार, इज्जत र योग्यता त के भन्नु र । 

    सोच्नुस् त, नागरिकताजस्तो दीर्घकालीन र संवेदनशील कानुनलाई समेत सत्ता बार्गेनिङ्गको साधन बनाउनु र अध्यादेशबाटै लागू गर्न खोज्नु हदैसम्मको राजनैतिक बेइमानी होइन ? दुई तिहाइको सरकारले संसदबाट सुरुको सत्रमै पार लगाउनुपर्ने कानुन होइन त्यो ? आज काम चलाऊ सरकारले त्यस्तो गम्भीर मुद्दामा अध्यादेश ल्याउने ? अनि हिजो काम चलाऊ सरकारले मन्त्रिमण्डल हेरफेर गर्नेदेखि दीर्घकालीन मुद्दामा निर्णय गर्न मिल्दैन भन्ने तपाईं नै होइन ?
     
    ओलीजी, जनताले नै चुनेको संसद गलत, अदालत गलत, अन्य पार्टीहरू गलत, सँगै मिलेर चुनाव लडेको पार्टी गलत, आफ्नै पार्टीका नेता गलत, पत्रकारहरू गलत र ओलीमात्रै सही भन्ने भाष्यले कतिसम्म काम गर्ला र ? संसार नै छक्क पर्ने विकासको जिम्मामात्रै आफूले लिने र यो निर्लज्ज राजनैतिक बेथितिको जिम्मा सप्पै अरूको काँधमा तेर्स्याएर मात्रै होला र ? 

    अब उपप्रधानमन्त्री महतोदेखि परराष्ट्रमन्त्रीसम्मले गरेको निर्णय र परिपत्र के हुन्छ ? भव्य शपथदेखि स्वागतसम्मका खर्च र समयको जिम्मा कसले लिन्छ ? त्यसअघिका बादललगायतका मन्त्रीहरूको निर्णय के भयो ? अब कर्मचारीले मन्त्रीहरूको निर्णय टेर्ने कि नटेर्ने ? पूर्वमन्त्रीको रूपमा तिनको खर्च राज्यकोषले बेहोर्ने कि नबेहोर्ने ? 

    एउटा नागरिकले एक दिन ढिलो कर तिर्दा या सामान्य नियम मिच्दा जरिवाना लिनुहुन्छ । तपाईंले नियतवश नै बारम्बार संविधान मिच्दा कुनै जरीबाना लाग्दैन ?
     


    आषाढ ९, २०७८ बुधवार १२:४२:३५ बजे : प्रकाशित

    शान्ता चौधरीको नेता नेपाललाई खुलापत्र– प्रधानमन्त्री बनाइदिने कांग्रेसले देखाएको सपनामा फस्नुभयो 

  • 3.8K
    SHARES
  • शान्ता चौधरीको नेता नेपाललाई खुलापत्र– प्रधानमन्त्री बनाइदिने कांग्रेसले देखाएको सपनामा फस्नुभयो 

    आदरणीय कमरेड माधव नेपाल 
    हार्दिक अभिवादन ।

    images

    नेकपा (एमाले ) को तपाईं  आदरणीय नेता  हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो  । हेर्दाहेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न प¥यो । फँस्नु भयो कमरेड, फँस्नु भयो तपाईं ।  निस्कनै नसक्ने गरि कांग्रेसको जालमा पर्नुभयो ।  

    शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमालेभन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा  तपाईं सपना ।

    यो स्ट्याटस सुरक्षित होस्, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस, पछि मलाई देखाउनु होस्, म चुनौती दिन्छु । निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् । 

    कांग्रेसलाई आफैंभित्र सकस हुनेछ, आफ्नै पार्टीभित्रको गुटकालागि टिकट को भागबन्डा मिलाएर बितरण गर्न उसलाई आफँैलाई सकस हुनेछ । 

    तपाईंको पार्टीलाई कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने,  वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले ।  कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको  शरणमा .. भो कमरेड भो , पतनको बाटो नजानुहोस् ।

    चौधरीको फेसबुुकबाट 


    आषाढ १४, २०७८ सोमवार १६:११:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # शान्ता चौधरी

  • शान्ता चौधरी

    'आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ '

    कमल थापा

    आषाढ २८

  • 2.8K
    SHARES
  • 'आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ '

    राप्रपा अध्यक्ष कमल थापा - नेपालको संविधान २०७२ मा रहेका गणतन्त्र, धर्मनिरपेक्षता र संघियता प्रति हाम्रो असहमति रहेको तथ्य सर्वविदित छ । तथापि यस संविधानमा संसदीय व्यवस्था, बहुदलीय प्रजातन्त्र, शक्ति पृथकिकरणको सिद्धान्त, समावेशी मान्यता, आवधिक निर्वाचन, जनताको अभिमतबाट सबै विषय परिवर्तन गर्न सकिने प्रावधान, मानव अधिकार र जनताको सर्वोच्चता जस्ता विषयहरू समेटिएका हुँदा हामीले संविधानलाई आलोचनात्मक समर्थन गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति अवलम्वन गरेका हौँ ।

    images

    प्रतिनिधिसभा विघटन सम्बन्धि रिट निवेदनका वारेमा आज सर्वोच्च अदालतले गरेको फैसला र परमादेशले संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकिकरणको मान्यता माथि गम्भीर प्रहार भएको छ । 

    आजको फैसलाले के पि ओलीको ज्यादतिबाट पिडितहरूलाई तत्कालको निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर, यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकरात्मक प्रभाव पारी रहने निश्चित छ  । आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ ।

    बिशेष गरी संविधानको धारा ७६(५) को प्रयोग गर्दा सांसदहरू माथी दलको नियन्त्रण नहरने सर्वोच्च् अदालतको फैसला अत्यन्त घातक छ र यसले भविष्यमा दलहरूको अस्तित्व नै धरापमा पर्ने छ । 

    rajkumar saniya.jpg

    हामीले अवलम्वन गरेको मिश्रित निर्वाचन प्रणालीको कारण आमचुनावमा साधारणतया कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्ने संभावना अत्यन्त कम छ । त्यस्तो अवस्थामा धारा ७६(५) को प्रयोग बारम्बार गर्नु पर्ने हुन्छ । सांसदहरू स्वतन्त्र र दलविहिन हुन पाउने भएपछि पार्टीको एकता र अनुशासन कसरी कायम गर्ने ? एउटा पार्टीको अध्यक्ष हुनुको नाताले म आफैपनि अत्यन्त चिन्तित भएको छु । 

    पार्टीको टिकटमा, पार्टीको घोषणापत्रको आधारमा र पार्टीको सहयोगबाट चुनाव जित्ने अनि सरकार बन्ने बनाउने बेला दलको नियन्त्रण भन्दा बाहिर गएर स्वतन्त्र हैसियतमा निर्णय गर्न पाउने कस्तो परम्परा हामी कायम गर्न खोजि रहेका छौँ ? एउटै पार्टीका केही सांसद सत्तापक्ष अनि केही प्रतिपक्षमा बस्ने अवस्था कस्तो संसदीय प्रजातन्त्र बनाउन खोजि रहेका छौँ ?  आज अदालतको फैसलालाई ऐतिहासिक भन्नेहरूले पनि एकपटक गम्भीर भएर सोच्नु पर्ने भएको छ ।

    अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रि बनाउने क्रममा नेकपा(एमाले) र जसपा जस्ता पार्टीहरू त सग्लो रहन सकेनन् भने आगामि दिनमा यही नियति आज उत्सव मनाउने नेपाली कांग्रेस वा नेकपा (माओवादी) भोग्नु पर्दैन भन्ने के ग्यारेण्टि छ ? 

    अर्काका पार्टी फुटाएर, अरू नै प्रयोजनको निम्ति संकलन गरिएको हस्ताक्षर प्रयोग गरेर, अपवित्र गठवन्धन बनाएर गरिएको दाविलाई सनाखत वा संसदमा परिक्षण नै नगराई ठाडो आदेशबाट प्रधानमन्त्रि नियुक्ति गर्न परमादेश दिनुले राजनीतिमा  गलत नजिर र परम्परा कायम हुन गएको छ । 

    बुढी वा बुढा मरे भन्ने भन्दा पनि काल पल्कने खतरा टडकारो देखिन्छ । सर्वोच्च अदालतको आजको फैसलाले देशमा अस्थिरता र अराजकताको श्रृंखला कायम भयो भने भोलीका दिनमा राजनीतिककर्मी मात्र होईन स्वयं न्यायमूर्तिहरू र न्यायालय पनि जिम्मेवार ठहरिने छ ।

    ‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’ ‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’


    आषाढ २८, २०७८ सोमवार २१:४९:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • कमल थापा

    खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

    आषाढ ३१

  • 3.3K
    SHARES
  • खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि दशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस्तै चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप पनि देशभर लगाइदैछ । 

    images

    यसैबीच डा. रवीन्द्र पाण्डेले खोप सम्बन्धि विभिन्न जिज्ञासाबारे बताएका छन् । उनले चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?  पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ? लगायतका विभिन्न प्रश्नको उत्तर दिएका छन् । 

    १. कुन खोप लगाउने ?
    - कोरोना भाइरसविरुद्ध स्वीकृति प्राप्त तथा सरकारले तोके बमोजिम जुन खोप लगाएपनि काम गर्छ । हामीकहाँ छनोटको अवसर सिमित भएको हुँदा जुन उपलब्ध छ, त्यहि लगाउनु राम्रो हुन्छ ।

    २. पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ?
    - पहिलो मात्रा जुन खोप लगायो, दोस्रोमात्रा त्यहि खोप लगाउनु राम्रो हुन्छ । कोभिशिल्ड एस्ट्रेजेनेकाको उत्पादन हो । जापानले नेपाललाई प्रदान गर्ने १६ लाख खोप पनि एस्ट्रेजेनेकाको खोप हो । तसर्थ केहि दिन पर्खेर जापानले दिने खोप लगाउनु राम्रो हुन्छ । एस्ट्रेजेनेकाको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा मोडेर्ना वा फाइजरको खोप लगाउँदा फाइदा हुने जनाइएको छ । हामीकहाँ मोडेर्ना र फाइजरको खोप उपलब्ध छैन । तसर्थ चीनको भेरोसिल वा अमेरिकी जोन्सन एण्ड जोन्सनसंग मिक्सम्याच नगर्नु राम्रो हुन्छ ।

    biplabatmadhavnepalniwas.jpg
     
    ३. दीर्घरोगीले खोप लगाउने कि नलगाउने ?
    - कोभिडबाट दीर्घबिरामीलाई बढी जोखिम हुने भएकोले दीर्घबिरामीले खोप लगाउनु सुरक्षित हुन्छ । आफ्नो रोग तथा औषधिको बारे आफ्नो चिकित्सक वा खोप केन्द्रमा सल्लाह गरेर लगाउनु थप सुरक्षित हुन्छ ।
      
    ४. चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?
    - सरकारले तोके बमोजिमका उमेर र समुहले तोके बमोजिमको खोप लगाउने।
     
    ५. अमेरिकामा जोन्सनको खोप किन कम लगाइएको छ ?
    - अमेरिका लगायत बिकसित देशमा खोप छनोटका धेरै बिकल्प छन् । तसर्थ उनीहरुले आफ्नो छनोट अनुसार फाइजर, मोडेर्ना, जोन्सन, एस्ट्राजेनेकाको खोप लगाएका छन् । हामीकहाँ त्यो सुबिधा छैन । त्यस्तै जोन्सनको खोप लगाउँदा अमेरिकामा दशौँ लाखमा ६ जनालाई रगत जम्ने समस्या देखिएकोले फाइजर र मोडेर्नामा बढी आकर्षण छ ।
     
    ६. नेपालमा उपलब्ध खोप कसले लगाउन मिल्दैन ?
    - १८ बर्षमुनिका युवा / बालबालिकाले ।
    - कोभिड खोप वा खोपका घटकको एलर्जी भएका व्यक्तिले।
    - ज्वरो आएका व्यक्तिले ।
    - कोभिड लागेका ( निको नभएका ) व्यक्तिले ।
    - रगत जम्ने समस्या भएका व्यक्तिले ।
     
    ७. कसले साबधानीपूर्वक लगाउनु पर्दछ ?
    - गर्भवती तथा ६ महिनाभन्दा कम उमेर भएका शिशुका आमाले ( फाइदाभन्दा जोखिम बढी भएमा सम्बन्धित चिकित्सकको निगरानीमा लगाउन मिल्छ )।
     
    ८. खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ?
    - सकभर खाना तथा पानी खाएर, भौतिक दुरी कायम गरेर खोप लगाउने । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्ने । कुनै समस्या भए तुरुन्त अस्पताल जाने । ज्वरो आउने, शरीर दुख्ने, जाडो हुने लगायतका लक्षण केहि दिनमा ठिक हुन्छन् ।
     
    ९. खोप सबैले नपाउने अवस्थामा के गर्ने ?
    - खोपको उपलब्धतासंगै सरकारले उमेर समुह निर्धारण गर्दछ । तसर्थ आफ्नो पालोमा मात्र लगाउने ।
     
    १०. बालबालिकाले कहिले लगाउने ?
    - बालबालिकामा खोपको ट्र्याल बिभिन्न देशमा भइरहेको छ । केहि महिनामा धेरै खोपले बालबालिकाको लागि खोप बिकास गर्नेछन । त्यो बेलासम्म खोप लगाएका / नलगाएका / बालबालिका सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।


    आषाढ ३१, २०७८ बिहिवार ११:१०:११ बजे : प्रकाशित

    महामारी, आर्थिक असुरक्षा र समाधान – डा. रवीन्द्र पाण्डे 

  • 1.1K
    SHARES
  • महामारी, आर्थिक असुरक्षा र समाधान – डा. रवीन्द्र पाण्डे 

    विश्वभर नै कोरोना महामारीको कारण चिन्ता, तनाव, डर लगायत मनोबैज्ञानिक समस्या बढेका छन् । यी मध्ये सबैभन्दा ठूलो आर्थिक असुरक्षा हो । बेरोजगार हुनु, ब्यबसायबाट बिस्थापित हुनु, निम्न ज्यालामा काम गर्नु, कुनै पनि समय कामबाट हट्नुपर्ने अवस्था हुनु, बालबालिकाको स्कुलको फिस तिर्न अप्ठ्यारो हुनु लगायतका समस्या हुँदा खाने बर्गमा छ भने हुनेखाने बर्गमा त्यो भन्दा ठूलो समस्या देखिएका छन् । 

    images

    आफ्नो ब्यबसाय ऋणात्मक हुनु, महँगो भाडा तथा स्टाफ खर्च हुनु, कमाइ नहुनु, घरजग्गा भएपनि नगद नहुँदा जीवनयापनमा समस्या देख्नु, त्यसको कारण चिन्ता, तनाब तथा फ्रस्ट्रेसन हुनु र भविष्यमा पहिलेजस्तै कमाइ हुने कुरामा विश्वास नलाग्नु तथा भबिष्यप्रति आशाबादी नहुने लगायतका मनोबैज्ञानिक समस्या देखापरेका छन् ।

    दैनिक काम गरेर खाने ठूलो जनसंख्या लकडाउन हुन्छ कि भनेर त्रासमा रहेका छन् । लकडाउन भयो भने के खाने ? कसरी परिवार पाल्ने ? केटाकेटीको फि कसरी तिर्ने ? बिरामी भए कसरी उपचार गर्ने ? भाडा कसरी तिर्ने ? लगायतका चिन्ता धेरैजनामा छ ।

    धेरै देशमा फैलिएको तेस्रो लहर, कोरियामा आएको चौथो लहर तथा इरानमा देखिएको पाँचौं लहरको कारण यो महामारी सधै रहने हो कि भन्ने चिन्ता हरेक बर्गमा बिध्यामान छ। बिकसित देशमा लकडाउन भएपनि राज्यले जीविका, पढाइ तथा उपचारको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो सामाजिक असुरक्षा भएको देशमा लकडाउन हुँदा पनि ‘ सेल्फी राहत ‘ बाहेक केहि प्राप्त नहुने हुँदा चिन्ताको ग्राफ उकालो लागिरहेको हो ।

    महामारीको अबधिमा सरकारले स्थानीय निकायबाट हुँदा खाने बर्गलाई कम्तिमा महिनाको ५० किलो चामल, ५ किलो दाल, १० हजार नगद, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने हो भने यो अवस्था आउने थिएन ।अहिले जुन बजेट बालुवामा खन्याइएको छ, त्यसलाई ब्यबस्थापन गर्ने हो भने राहत दिन सरकारलाई कुनै अप्ठ्यारो पर्दैन। यसमा सरकार जनताप्रति जिम्मेवार भए पुग्छ ।
     
    हामी आम नागरिकले यी तथ्य आत्मसात गर्नु जरुरी छ –
    - हरेक कुराको आयु हुन्छ । यो महामारीको पनि आयु छ । १-२ बर्षपछि महामारी सकिन्छ ।
    - खोप अभियान चलिरहेको छ। खोप लगाएपछि अपवाद बाहेक कोभिड सरेपनि गम्भीर हुने / मृत्यु हुने हुँदैन ।
    - छिमेकी देश तथा अन्य देशमा खोप अभियान तीब्र छ । त्यहाँबाट नेपाल आउने व्यक्ति खोप लगाएर आउँछन् । जसको कारण पहिले जस्तो संक्रमण सर्दैन ।
    - दोस्रो लहरमा लाखौँ व्यक्ति संक्रमण भएका छन् । ती मध्ये धेरैलाई थाहा नभई कोरोना निको भएर एन्टिबोडी बिकास भएको छ । खोप लगाएका तीसौं लाख व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको छ । यी व्यक्तिलाई कोभिड लागेपनि सामान्य रुपमा निको हुन्छ ।
    - दोस्रो लहरमा हाम्रा स्वास्थ्य संरचना धेरै बलिया भएका छन्। अक्सिजन नपाएर मृत्यु हुने अवस्था अब हुने छैन ।
    - मास्क, भौतिक दुरी र हातको सफाइमा ध्यान दिए संक्रमण सर्दैन।
    - महामारीको समयमा अनपेक्षित कुरा धेरै हुन्छन् । बिकसित देशमा पनि हाम्रो देशमा भन्दा धेरै व्यक्तिको निधन भएको छ । तसर्थ जहाँ बसेपनि जोखिम हुनसक्छ ।
    - अर्को बर्षदेखि खोपको कारण कोरोना सामान्य रुघाखोकीजस्तो हुनसक्छ।
    - त्यसपछि हाम्रो काम, कमाइ तथा आर्थिक गतिबिधि पहिलेभन्दा सुदृध हुन्छ । हामीले मेहेनत गर्यौं भने यो महामारीमा भएको घाटा ६ महिनामै हट्नेछ । त्यसपछि हामीले पहिलेभन्दा उन्नत जीवन पाउनेछौं ।
    - महामारीले संसारमै हरेक मानिसलाई घर वा आफ्नो देशमा कैद गरेको छ । महामारी कमजोर भएपछि भ्रमणमा निस्किने लहर चल्छ | हाम्रो देशमा पनि लाखौँ पर्यटक आउँछन् । पर्यटन क्षेत्र बलियो हुँदा रोजगारी तथा कमाइ बढ्छ ।
    - अहिले कमाइ कम भएको हुँदा हाम्रो क्रय शक्ति कम भएको छ। १ बर्षपछि हाम्रो रोजगारी तथा ब्यबसाय चल्नेछ | आम नागरिकको कमाइ भएपछि खर्च गर्नेछन । त्यसपछि हाम्रा हरेक ब्यबसाय चल्नेछन् ।
    - कोठामै कैद भएर अनलाइन पढ्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
    - विद्यार्थीको लागि बिदेशमा पढ्ने अवसर प्राप्त हुनेछ ।
    - धेरै देशलाई कामदारको खाँचो पर्नेछ । तसर्थ बैदेशिक रोजगारी बढ्नेछ ।
    - महामारीले कृषि, पशुपालन आदिलाई राम्रो पेशाको रुपमा चिनाएको छ । लाखौँ युवा आफ्नै देशमा स्वरोजगारमा लाग्नेछन् ।
    - नागरिकको कमाइ भएपछि बन्द भएका ब्यबसाय पहिलेभन्दा राम्रोसंग चल्नेछन् ।
    - यो समयमा हामीले उच्च मनोबलको साथ जीवन संचालन गर्न सक्यौं भने अर्को बर्षदेखि हाम्रा तनाब, चिन्ता तथा असुरक्षा हट्नेछन् । त्यो बेलासम्म हामी सुरक्षित, धैर्य तथा आशाबादी हुनु जरुरी छ ।
    - अन्त्यमा, सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गरोस्, खोप भटाभट लगाओस् । तर लकडाउन नगरोस् । लकडाउन गर्ने परिस्थिति रोक्ने काम अहिलेदेखि गरोस् । राहत, सहुलियत र छुटजस्ता नागरिक प्रदत्त अधिकार सुनिश्चित गरोस् । आर्थिक असुरक्षाको चिन्ता हटाउने कार्यक्रम तुरुन्त लागु गरोस् ।डा. रवीन्द्र पाण्डे 


    भाद्र ७, २०७८ सोमवार ११:०४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडा नेपाल