श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

अन्ततः प्रधानमन्त्री ओली गले, संविधान संशोधनका लागि तयार



फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संविधान संशोधन गर्न राजी भएका छन् । संविधान जारी गर्दा बखतदेखि नै मधेश केन्द्रीत दलका नेताहरुले आफ्नो अधिकार समेट्ने गरी संविधान संशोधनको माग राख्दै आएका भए पनि प्रधानमन्त्री ओली असहमत देखिएका थिए । उनले मधेशवादी दलहरुको मागअनुसार संविधान संशोधन हुन नसक्ने अडान राख्दै आएका थिए । 

तर, पछिल्लो समय मधेशवादी दल, भारतसँग सम्बन्ध चिसोपना बढिरहँदा चीनबाट अपेक्षाकृत सहयोग नपाएपछि प्रधानमन्त्री ओली सबैसँगको सम्बन्ध सुधार्न संविधान संशोधनप्रति सकारात्मक देखिएका हुन् । 

संविधान दिवसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काठमाडू स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका हुन् । 

सो क्रममा उनले नेपालको मौजुदा संविधानमा विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको व्यवस्था गरेको दावी पनि गरे । नेपालको संविधान एक गतिशील दस्तावेज भएको भन्दै उनले यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सरकार तयार रहेको बताएका हुन् । 

साथै प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवालमा सबै एक भएर नेपालको नयाँ राजनीतिक नक्सालाई दोस्रो संशोधनमार्फत सर्वसम्मतरुपमा समेटिएको घटनाले राष्ट्रिय एकता गराउने देन र तागत संविधानमा रहेको पुष्टि भएको दावी गरे । 

प्रधानमन्त्री ओलीले समाजवादलाई सामाजिक न्याय, समानता र उपलब्धिमा सबैको हिस्सेदारीसहितको प्रणालीका रुपमा बुझ्न आग्रह गर्दै त्यस्तो समाजमा खुल्लापन, शान्तिसुरक्षा, विधिको शासन र न्यायका सुप्रबन्धहरु हुने स्पष्ट गरे । 

संविधान संशोधनको माग राखेर मधेशवादी दलहरु लामो समयदेखि संघर्षरत छन् । वर्तमान सरकार गठनका बेला तत्कालीन संघीय समाजवादी पार्टीसँग संविधान संशोधन गर्न सहमति गरे पनि पछि प्रधानमन्त्री ओलीले चासो नदेखाएको भन्दै उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

पछिल्लो समय नेपालको सीमाका विषयलाई लिएर भारतसँग सम्बन्ध बिग्रिएको छ । संविधान संशोधन नगरेको विषयले सत्तारुढ दल नेकपाको जनता समाजवादी दलसँग पनि सम्बन्ध राम्रो नरहेको बताइन्छ । भारतसँग सम्बन्धमा चिसोपना बढेका बेला अपेक्षाकृत चीनबाट सहयोग प्राप्त नभएपछि प्रधानमन्त्री ओली अन्ततः गलेका छन् । उनी संविधान संशोधन गर्न राजी देखिएका हुन् । 

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १ : ४६ बजे