काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल आगामी कात्तिक पहिलो हप्ता सकिँदैछ । कार्यकाल सकिने बेला मात्र होइन, विगत पाँच–सात महिनादेखि रेग्मी कहाँ के गर्दैछन् ? भन्ने अत्तोपत्तो छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा रेग्मीलाई मुख्यसचिव बनाइएको थियो । कांग्रेससँग आस्था राख्ने भएकाले उनलाई मुख्यसचिव बनाइए पनि तीन तहको निर्वाचनमा तत्कालीन एमालेले सानदार जित हात पारेलगत्तै उनी देउवाभन्दा पनि केपी ओलीको निवास बालकोट धाउने गर्थे ।
प्रधानमन्त्री बन्ने लाइनमा रहेकाले उनले ओलीको चाकडी गर्न लागिसकेका थिए । तत्कालीन देउवा सरकारका महत्वपूर्ण सूचना उनले बालकोट पुर्याउने गर्थे । त्यही भएर अहिलेसम्म उनलाई मुख्यसचिवबाट नहटाइएको हो ।
आफू मुख्यसचिवबाट हटेलगत्तै उनले शक्तिशाली देशको राजदूतको माग गरिरहेका छन् । त्यसैले ओली सरकारले उनलाई बेलायतको राजदूत बनाएर पठाउने तयारी गरेको छ ।
तर, त्यसका लागि उनले असोज दोस्रो नै मुख्यसचिव पदबाट राजीनामा दिनुपर्ने सरकारको सर्त छ ।रेग्मीले असोजमै राजीनामा दिए परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिव बन्न पाउनेछन् ।
अहिलेका सचिवमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । सोही कारण रेग्मीलाई मनाउन बेलायतको राजदूतका लागि अफर गरिएको समाचार स्रोतको दाबी छ । बेलायतका राजदूत दुबसु क्षेत्रीको कार्यकाल सकिन लागेको छ । उनी परराष्ट्र मन्त्रालयको कोटाबाट राजदूत बनेका हुन् ।
उनी त्यहीँका कर्मचारी भएकोले सरकारले चाहेमा केही समयअगावै पनि फिर्ता बोलाउन सक्छ । मुख्यसचिवको दौडमा अहिले बैरागीसँगै मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि छन् ।
प्रतिक्रिया