आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

ताप्लेजुङमा थपिएका २ सँगै ७५ मतदान स्थल कायम



काठमाडौँ – ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा थप भएको दुईसमेत अब ७५ वटा मतदान स्थल कायम भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार सदरमुकाम स्थित फुङ्लिङ नगरपालिका हाङ्देवाको शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका–५ पापुङको सिम्बुक आधारभूत विद्यालयमा मतदानस्थल थप भएको छ । यस्तै ताप्लेजुङमा मतदान केन्द्र पनि एक सय २३ वटा कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै, आगामी निर्वाचनका लागि ताप्लेजुङको मतदाता सङ्ख्या ८८ हजार २ सय ८५ कायम भएको छ । गत स्थानीय तहको निर्वाचनमा यहाँको मतदाता सङ्ख्या ८९ हजार ६ सय ८० रहेको थियो । आगामी निर्वाचनका लागि ४७ हजार ८० पुरुष र ४१ हजार २०५ जना महिला मतदाता कायम भएका छन् । 

 

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ८ : ३३ बजे