आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

विवाह गरेको भोलिपल्ट नै दिनलाई नागरिकता कागजमात्र होइन : कमल थापा 



काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकतालाई कागजमात्र सम्झिन नहुने बताएका छन् । गृहजिल्ला मकवानपुर आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विवाह गरेको भोलिपल्ट नै नागरिकता दिने कुरामा सहमत हुन नसकिने धारणा व्यक्त गरे । 

नागरिकता सबैले सहज रुपमा पाउनु पर्ने आफ्नो विचार रहेको भन्दै थापाले भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन । नागरिकता कागजको खोस्टामात्रै होइन् ।’ 

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा नेपालमा ब्रह्मलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको भन्दै  राजनीतिक दलहरू विशेषगरी युवाहरू राजनीतिक स्वार्थको गोटी बन्नु नहुने बताए ।  सरकार र दलहरूले मर्यादारहित व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको थापाको भनाइ थियो । 

धर्मनिरपेक्षता र प्रदेशको खारेजी आवश्यक रहेको भन्दै थापाले संविधान पतन हुनबाट जोगाउन दलहरूको व्यवहारमा सुधार अनिवार्य भएको बताए । 

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ७ : ०८ बजे