आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

म्यादी प्रहरीमा दोब्बर आवेदन, सबैभन्दा बढी मधेश प्रदेशबाट



 

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खुला गरेको म्यादी प्रहरीमा दोब्बरले आवेदन भरेका छन् । निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी आवश्यक रहेकोमा २ लाख ३२ हजार बढीले दरखास्त दिएको प्रहरी प्रवक्ता (डिआईजी) टेकप्रसाद राईले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन् भने नेपालभरबाट १ लाख ७१ हजार ७ सय १८ जना पुरुष र ६० हजार ३ सय ७० जना महिलाले आवेदन दिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
यही असोज ९ गतेबाट छनोट शुरु हुने म्यादी प्रहरीमा मधेश प्रदेशबाट सबैभन्दा बढी आवेदन परेको छ । प्रहरीका अनुसार मधेश प्रदेशबाट ६६ हजार ८ सय ८४ जनाले आवेदन दिएका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरूले तलब र रासन बापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् । म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन् ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ६ : २० बजे