आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

प्रदेश १ मा मैथिली र लिम्बुलाई सरकारी कामकाजको भाषा बनाउन सुझाव



विराटनगर–प्रदेश १ को भाषा अध्ययन कार्यदलले प्रदेशमा मैथिली र लिम्बुलाई सरकारी कामकाजको भाषा बनाउन सुझाव दिएको छ । कार्यदलले आज प्रदेश १ का संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुलाई प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको छ ।
कार्यदलले प्रदेश १ मा लिम्बु र मैथली भाषालाई सरकारी कामकाजको भाषा बनाउन मन्त्री लिम्बुलाई बुझाएको प्रतिवेदनमा सुझाव दिएको छ ।
प्रतिवेदनमा भाषाका आधारमा समानता, समता र विभेदविरुद्ध गरिएका व्यवस्था, भाषाको आधारमा हुने विभेद र अपमानजन्य व्यवहारविरुद्ध व्यवस्था र मातृभाषा निषेधमा बन्देजको व्यवस्था, भाषाको आधारमा गरिने विभेद र कसुर, अनुसन्धान, तहकिकात तथा दण्डसजायको व्यवस्था गरिएको, शिक्षामा मातृभाषाको प्रयोग र विस्तारको व्यवस्था गरिएको लगायतका १२ वटा मुख्य विषय समेटिएको छ ।
कार्यदलका सदस्य रामरिझन यादवले मल्लकालमा मैथिली भाषा राष्ट्र भाषा नै रहेको बताउँदै काठमाडौंका सङ्ग्रहालयमा मल्ल राजाहरूले मैथिली भाषामा लेखेका नाटकहरू अझै भेटिने गरेको बताए ।
पूर्वमा लिम्बुहरूको आफ्नै किसिमको वर्चस्व रहेको भन्दै उनले मातृभाषातिर जहिल्यै पनि शासकीय कुदृष्टि देखिएको आरोप लगाए ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ३ : ५२ बजे