आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

शल्यक्रिया गर्न टर्च लाइट बाल्नु पर्ने बाध्यता !



हुम्ला–कहिले सिटामोलको अभाव त कहिले विद्युतको अभावले हुम्ला जिल्ला अस्पतालमा रातको समयमा शल्यक्रिया तथा प्रसुति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता रहेको छ । भिडियो एक्सरे गर्न बत्ती कहिले आउँछ भनेर कुर्नुपर्ने सास्ती हुम्लीबासीले वर्षेनि भोग्दै आएका छन् ।
दुर्गम हिमाली जिल्लामा १ मात्र जिल्ला अस्पताल भए पनि विद्युत नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको हो । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका बिरामीले झन बढी सास्ती खेप्नु परेको छ । नेपाल विद्युत प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रले नियमित विद्युत् सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो गर्छन् । ५०० किलोवाट क्षमता भएको जलविद्युत्ले नियमित विद्युत उपलब्ध गराउन नसक्दा सदरमुकामवासीसहित अन्य सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ ।
केही समयअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताए । प्राधिकरणले प्रत्येक वर्ष दसैंमा विद्युत सेवा मर्मतका नाममा सेवा बन्द गर्दै आएको थियो । यहाँका नागरिकले अँध्यारोमै दसैँ मनाउन पर्नाका साथै हिउँद याममासमेत १८ घण्टाको लोडसेडिङको समस्या खेप्दै आएका छन् । विद्युत नियमित नहुँदा इलोक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका २ वटा रेडियोले समेत सास्ती खेप्दै आएका छन् ।
यस्तै विद्युतको अभावमा अक्सिजन दिनुपर्ने बिरामीलाई रातको समयमा अक्सिजन दिन नसकिएको, डिउटीमा खटिएका स्वास्थ्यकर्मी अध्यारोमा बस्ने गरेको, उझ्यालको अभावमा बिरामीलाई दिसापिसाब गर्न जानसमेत समस्या हुँदै आएको छ । अस्पतालले मागेको समयमा विद्युत उपलब्ध गराइए पनि नियमित नहुँदा समस्या भोग्नु परेको कार्यालय प्रमुख प्रेम सिंहले बताए । १५ शै्ययाको अस्पतलामा यस्तै समस्याले गाजिरहेको छ ।

दुई गाउँपालिकाका अन्धकारमा
विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटवासीसहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आउनु परेको छ । विद्युत सेवा नहुँदा पुरानै दियालो बालेर रात कटाउनु परेको स्थानीयवासी गौगोरा बोहराले बताए । जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत सिमकोट गाउँपालिका–१ देखि ८ सम्म र खार्पुनाथ गाउँपालिका–१,४,५ मा विद्युत आपूर्ति हुँदै आएको छ । केन्द्रीय लाइन हुम्लामा अझैसम्म पुग्न सकेको छैन । सेवाग्राहीले यो पटक मात्रै मात्र नभइ महिनैपिच्छे यस्ता समस्य भोग्दै आउनु परेको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ३ : २८ बजे