आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

विवाहलगत्तै नागरिकता दिने व्यवस्था कहाँ छ? पोखरेल



काठमाडौं–नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई चुनावी एजेण्डा बनाएर एमालेविरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।
पार्टी कार्यालय च्यासलमा हाज आयोजित पार्टी प्रवेश कार्यक्रमा बोल्दै उनले मंसिर ४ को चुनावबाट एमाले अगाडि आउनेबाट रोक्न पाँच दलीय गठबन्धन लागिरहेको बताए ।
उनले भने, ‘हामीलाई रोक्न विभिन्न षड्यन्त्र भइरहेको छ । हाम्रो पाटीलाई रोक्नको लागि नागरिकताको विषयसँग जोडेर प्रचार गरिएका छन् । नागरिकले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानको वंशजको आधारमा नागरिकता सुनिश्चित गर्नुपर्छ भन्नेमा एमाले प्रतिबद्ध छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याउँदा रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गर्दैछन् ।’
ओली सरकारले ल्याएको अध्यादेश नरोकेको भए जन्मसिद्धका सन्तानहरूले अहिले नागरिकता पाइसक्ने उनको भनाइ छ । नागरिकता समस्या समाधान गर्न राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउँदा गठबन्धनले बेवास्ता गरेको बताए ।
‘गठबन्धनले राष्ट्रको नेतृत्वको गर्न सक्दैन । वैवाहिक अंगीकृतको सम्दर्भमा नेपाली चेलीले भारतमा बिहे गरेर जाँदा जति समय लाग्छ । त्यति भारतबाट आउने चेलीले पनि नेपालमा नागरिकता पाउन कुर्नुपर्छ भनेका हौँ’, उनले भने ‘विवाह लगत्तै नागरिकता दिने व्यवस्था कहाँ छ? हामीले नागरिकताबाट कसैलाई बञ्चित गर्न खोजेका होइनौँ । नेपाली चेलीहरूले जुन हक पाउछन् । अरूलाई पनि त्यही हुनुपर्छ भनेका हौँ ।’ राष्ट्रलाई कमजोर पार्ने षडयन्त्रको विरूद्ध एमालेले निरन्तर लडेको दाबी गरे ।

 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  २ : २० बजे