आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

ओलीले गरे राष्ट्रपति र चोलेन्द्रको बचाउ

‘संविधानले नै नचिनेका मान्छेहरू बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो’



काठमाडौं–एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए ।
‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’
गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठानेको भन्दै ओलीले भने, ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’
एक वर्षअघि नै संसदमा आफूले संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जानुपर्ने बताएको भन्दै उनले त्यतिखेर नै सरकारले संविधानको पालना गर्नुपर्ने सुझाव दिएको बताए । सरकारले विधेयक पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गरी स्वीकृत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै ओलीले तर, गठबन्धनले संविधानको धारा १८१ एकपटक पालना नगरेको आरोप लगाए ।

चोलेन्द्रको बचाउ
बदनियतका साथ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका ओलीले ६ महिनासम्म प्रस्तावलाई अगाडि नबढाएर दराजमा थन्क्याएर राखेको टिप्पणी गरे । ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषय ६ महिनासम्म चुपचाप राखिन्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘१ फागुनमा दर्ता भएको महाअभियोग प्रस्ताव १ भदौसम्म बाहिर निकालिएन ?’
उनले अहिले संसदको नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताए । ‘संसदले अभियोग प्रमाणित नभएपछि सभामुख स्वभाविक रुपमा फर्केर जान्छ । तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो’, उनले भने । ‘यो सरकार खोपडीले सोच्दैन मसलले मात्रै सोच्छ ।’ उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखेको भन्दै गठबन्धनले लोकतन्त्रकै उपहास गरेको बताए ।
उनले व्यक्ति प्रधानन्यायाधीश कस्तो भन्नेमा आफु नजाने भन्दै कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताए । ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए । ‘कुन कानुनले प्रधानन्यायाधीशलाई बिना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ ?’, प्रधानमन्त्रीलाई जवाफ दिन चुनौती दिए । सेक्युरिटी खोस्ने, पानीको पाइप काट्ने भन्दै लोकतन्त्रको नाम लिन लाज लाग्नुपर्ने ओलीको भनाइ छ । ‘अकुपाई बालुवाटार’ भन्नेहरु कहाँ गए भन्दै प्रश्न गरे । उनले सरकार स्वेच्छाचारितामा चलेको भन्दै गठबन्धन तन्त्रलाई जनताले टिपेर मिल्काइदिने दाबी गरे ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  २ : ०७ बजे