आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

बारामा डेङ्गी परीक्षण गर्न कीटको अभाव



कलैया–बारामा डेङ्गीको प्रकोप बढ्दै गएको छ । डेङ्गीका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।
बारामा २८ भदौदेखि डेङ्गीको परीक्षण हुन थालेपछि अहिलेसम्म ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा ९ र निजगढमा २४ डेङ्गीका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
डेङ्गीका बिरामी बढ्दै गएपछि परीक्षण गर्न कीटको अभाव पनि भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए । डेङ्गी अझै बढ्न सक्ने उनको भनाइ छ । बारामा डेङ्गीबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । डेङ्गीबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिएका छन् ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  १२ : ५४ बजे