आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

हजारौं नेपालीले अवलोकन गरेको १४ औँ हिमालयन मेला टोरन्टोमा सम्पन्न   



टोरन्टो – क्यानडाको सबै भन्दा ठूलो  शहर टोरन्टोमा १४ औँ हिमालयन  मेला भव्य रुपमा सम्पन्न भएको छ । टोरन्टो महानगर पालिकाको प्राङ्गण (नाथन फिलिप्स स्क्रायर) मा नेपाली कला, भाषा, संस्कृति र नेपाली खानाको पहिचान झल्काउने उद्देश्यले आयोजना गरिएको मेला भव्य रुपमा सम्पन्न भएको आयोजक संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजका अध्यक्ष तुलसी पाठकले बताए । 

नेप्लिज क्यानेडीयन कम्युनिटी सर्भिसेज (NCCS) को आयोजनामा भएको मेलामा नेपाली भजन, योगा, पञ्चेबाजा, लाखे नाच, तामाङ, थारु, नेवारी, गुरुङ लगायत विभिन्न जातजातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कोभिडको कारणले २ वर्ष रोकिएको मेलाको तयारी, प्रचार, प्रसार भव्य रुपमा भएको, सम्पूर्ण संघसंस्थालाई सहभागिताको   लागि अनुरोध गरिएको संस्थाका उपाध्यक्ष लोक दोरंगाले जानकारी दिए।  विगतदेखि मेला आयोजना गर्दै आएका संस्थाका निवर्तमान अध्यक्ष बिदुर कटुवालले   क्यानडा आएर बसेका नेपाली, युवा, विद्यार्थी र स्थानीय समेत ५  हजार बढीको सहभागी रहेको  र अहिले सम्मकै ऐतिहासिक मेला भएको बताए ।

हिमालयन मेलाको उद्घाटन गर्दै गैर आवासीय नेपाली संघका सचिव चिरन्जीवी घिमिरेले नेपाली कला, भाषा, संस्कृति र नेपाली पनको  पहिचान झल्काउने मेला क्यानडाका विभिन्न शहरहरूमा  आयोजना गर्नु पर्ने, बढी भन्दा बढी दोश्रो जेनेरेसनलाई संलग्न गराउनु पर्ने, नेपाली समुदायका संघ संस्थाहरू सँग हातेमालो गर्ने, नेपाली व्यवसायीहरूलाई प्रमोट गर्ने , क्यानेडियन राजनीतिका नेतासँग पहुँच बढाउँदै जाने हो भने  नेपाली समुदायको उन्नति र प्रगति धेरै छिटो हुने कुरा व्यक्त गरेका थिए ।  

घिमिरे गैर आवासीय नेपाली संघ क्यानडाका निवर्तमान अध्यक्ष , नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजका (NCCS) पूर्व सचिव र उपाध्यक्ष रही सकेका छन। कार्यक्रममा  गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतम तथा  नेपाली समुदायका संघ संस्थाहरूका प्रतिनिधिहरू अतिथिको रुपमा उपस्थिति रहेको थियाे।  गायिका नलिना  चित्रकार र गायक हेमन्त रानाले आफ्नो दमदार प्रस्तुति दिएका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन वरिस्ट लोक गायक बुद्धि सागर बस्याल र गायिका देविका केसीले गरेका थिए ।   

कार्यक्रममा बालकलाकारले नेपाली परम्परागत पोशाक लगाएर नृत्य प्रस्तुत गरेका थिए । भजन चुट्कादेखि लाखेनाच र आधुनिक गीतहरू कार्यक्रममा  गुञ्जिएको थियो ।योगा प्रशिक्षक  शुसिला घिमिरेको  योगा  प्रदर्शन ,  बाग्लुङ समाजबाट पञ्चे बाजा र पशुपति मन्दिरबाट भजन, जनजाति मगरसंघबाट थारु नाँच, तमु-मगर नाँच र नयाँ गुठीबाट लाखे नाँच, हिमालयन भाइब्स टू मोनार्क ब्याण्डको भव्य प्रस्तुति र सृजनशील समाजदेखि नर्सिङ गर्ल्सको प्रदर्शन कार्यक्रम मुख्य आकर्षण हुन् ।  प्रदर्शनी स्टलमा राखिएका मम, सेलरोटी लगायतका नेपाली खाना विदेशीहरुले निक्कै स्वाद लिएर खाएका छन् । प्रदर्शनमा राखिएका नेपाली कपडा र ज्वेलरीहरु पनि विदेशीहरुले खरिद गरेका छन्।

सांसद् ह्यामिल्टन क्षेत्रका दान मुइज ले  हिमालयन मेला आयोजना गरेर नेपाली कला संस्कृतिका संरक्षणमा योगदान दिएको भन्दै आयोजक  संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) लाई सरकारको तर्फबाट सम्मान गरेका थिए भने संस्थाका अध्यक्ष तुलसी पाठक र सभापति डा थमनाथ अधिकारीले उक्त सम्मान पत्र ग्रहण गरेका थिए । अन्टारिया प्रिमियर डग फोर्ड को उपस्थिति रहने कार्यक्रम स्व. रानी एलिजाबेथको कारणले उपस्थित हुन नपाएपछि  मेला सफलताकालागि शुभकामना संदेश पठाएका थिए।

 

 

 

 

 

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ८ : १९ बजे