आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

आज पितृको पाप हरण गरिदिने इन्दिरा एकादशी, यस्तो छ व्रतकथा



आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी । आज पितृहरूको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ । यस एकादशीको व्रत बस्नाले दिवंगत पितृहरूले मोक्ष पाउने विश्वास छ ।

आज विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी व्रत बस्ने चलन रहेको छ । हिन्दु परम्परा अनुसार सोह्र श्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी व्रत लिँदा समस्त पितृहरूको नर्कबाट उद्धार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।

व्रत कथा

सत्ययुगमा महिषमति शहरमा इन्द्रसेन नामक एक प्रतापी राजा थिए । ती राजा सन्तान सहित धन सम्पतिले भरिपूर्ण र शत्रुहरुसँग अपराजित थिए । इन्द्रसेन राजाको राज्यसभा चलिरहेको समयमा एक दिन महर्षि नारदको आगमन भयो । इन्द्रसेनले खुसी हुँदै नारदलाई आसन गराए र नारद पनि इन्द्रसेनको भक्तिले प्रसन्न भए ।

नारदले आफू यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताए । इन्द्रसेनले धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गको साटो यमलोक कसरी पुगे भनेर सोधे । नारदले इन्द्रसेनका पिताले इन्दिरा एकादशीको व्रत पुरा गर्न नसकी बीचैमा छाडेका कारण यमलोकको बास भएको बताए ।

नारदले राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको व्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गको बास हुने बताए । नारदको कुरा सुनेपछि इन्द्रसेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको व्रत बसी व्रतको समापनमा ब्राह्मण पुरोहितहरूलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयं पितृ धर्म प्राप्त गरी सुखशान्तिले राज्य चलाउन समक्ष भए । यही मान्यता अनुसार हरेक वर्ष आजको दिन इन्दिरा एकादशीको व्रत बस्ने परम्परा छ । 

यस एकादशीको व्रतपछि अहिले पनि ब्राम्हणलाई भोजन गराउने चलन छ । केही समुदायले भने आज धूप दीप सहित विष्णु भगवानको पूजा गरी गाईलाई फल खुवाउँछन् । इन्दिरा एकादशीको व्रतका दिन नसुती व्रत बस्नुपर्ने मान्यता छ । त्यसैले आज व्रतपछि दिनभर भजन कीर्तन गरेर बिताउँछन् । यसका साथै एकादशी तिथिमा श्राद्ध परेका पितृहरूको श्राद्ध पनि आजै गरिन्छ ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ७ : ३८ बजे