आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

कुनै पनि देशले दिने माग जस्ताको त्यस्तै स्वीकृत नगर्न मन्त्री कुँवरको आग्रह



काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने माग जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गरेका छन् ।

बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै मन्त्री कुँवरले माग आयो भन्दैमा राम्रोसँग नबुझी स्वीकृत नदिन आग्रह गरेका हुन्।

मन्त्री कुँवरले माग आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्नेमा जोड दिनुपर्ने बताए । कसैको दबाब र धम्कीको आधारमा माग स्वीकृत नगर्न पनि उहाँले आग्रह गरे ।

डर, धम्की दिने व्यवसायीहरूसँग आफूले कुराकानी गर्ने भन्दै मन्त्री कुँवरले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिए।

उनले श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने बताए। उनले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गरेका छन् ।

नौ वटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरलाई आफूले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिहरूको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरूलाई दूतावासले गरिरहेको सहयोग लगायतका विषयमा जानकारी गराएका थिए ।

उनीहरूले नेपालीहरू काम गर्नभन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको मन्त्री कुँवरलाई जानकारी गराए। भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उहाँहरूले आग्रह गरे।

उनीहरूले सिप सिकेका मात्रै कामदारलाई विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने पनि माग राखेका छन्।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ६ : ५१ बजे