आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

निर्वाचनलाई प्रविधिमैत्रि बनाउन नेपालमै बन्यो मतदान यन्त्र, के गर्छ आयोग ?



काठमाडौँ – हरेक वर्ष मतगणना भइरहेका बेला विद्युतीय मतदान यन्त्रका बारेमा बहस हुन थाल्छ । मतगणना ढिलो भएका बेला अझ विद्युतीय मतदान यत्रको आवश्यक्ता खड्केको सबैले सुनाउँछन् । तर, निर्वाचन सकिएपछि त्यो विषय त्यसै सेलाउँछ ।

गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मतगणना ढिलो भएपछि आयोगले आउने निर्वाचनहरुमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्न तयारी गर्ने बताएको थियो तर, अहिलेसम्म त्यसका बारेमा छलफल भएको पाइँदैन ।
आयोगले छलफल नगरे पनि रामलक्ष्मण इनेभेसनले भने विद्युतीय मतदान यन्त्र सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राम रिजाल र लक्ष्मण रिजालले १०० ओटा निर्वाचन मेसिनबाट गराएको जानकारी दिदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि विद्युतीय मतदान यत्र तयार रहेको जानकारी दिए ।

झण्डै १० वर्षदेखि विद्युतीय मतदान यत्रमा करिव १० करोड लगानी गरिसकेका रामलक्ष्मणले नेपालमा विभिन्न पार्टीहरु, संघसंस्था, गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समेत रामलक्ष्मणले बनाएको विद्युतीय मतदान यत्रले गरेको छ । देशको आम निर्वाचनमा सम्पूणर् सुरक्षासहित मतदान गर्नका लागि तयारी अवस्थामा मेसिनहरु रहेको उनीहरुको भनाइ छ।

कसरी काम गर्छ ?

मेसिनको अग्रभागमा ठूलो डिस्पेले राखिएको छ । उक्त डिस्पेलेमा सामान्यतः १२६ वटा दलको चुनावचिन्हहरु राखिएको हुन्छ । झट्ट हेर्दा मतपत्रजस्तै देखिने डिस्प्लेमा औलाले छोएर मतदान गर्न सकिन्छ । औलाले छोएपछि स्वस्तिक छाप तयार हुन्छ र उक्त मतदान गरेको रेकर्ड प्रिन्टसमेत हुन्छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि अलग अलग मतपत्र डिस्प्लेमा देखिन्छ । अहिले करिव ७ सेकेण्ड लाग्ने समयावधि घटबढ गर्न पाउँछ । प्रतिनिधिसभा जस्तै प्रदेशसभाको पनि प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि मतपत्र आउँछ । कुनै एक व्यक्ति मतदान गर्न गएको १ मिनेटमा मतदान गरेर फिर्ता भइसकेको हुन्छ ।

निर्वाचन अधिकृतले स्वीकृती दिएपछि मतदानको प्रक्रिया सुचारु हुन्छ । मतदाताले मतदान गरिरहेको छ वा अलमलमा परिरहेको छ भन्नेबारे निर्वाचन अधिकृतको हातमा रहेको डिभाइसले देखाउँछ । प्रतिनिधिसभाको प्रत्यक्ष समानुपातिक, प्रदेशस सभाको प्रत्यक्ष र समानुपातिक गरी ४ पटक डिस्प्लेमा मतपत्र देखिन्छन ।

विद्युतीय मतदान यत्रले सम्पूर्ण सुरक्षासहित मत जाहेर मतदान गरेको रेकर्ड राख्ने गर्छ । एसडिकार्ड, सर्वर र प्रिन्टमार्फत उक्त मेसिनले मतदानको विवरण राख्द छ । मतदाताले गरेको मतदानको समयसहितको रेकर्ड राख्ने गर्छ । मेसिन बनाउने लक्ष्मणले भने, ‘सम्पूणर् तरिकाले सुरक्षित छ । हामीले तीन वटा व्याकअप राख्ने गरेका छौँ । सम्पूणर् अपाङ्गता भएका व्यक्तिहरुले समेत भोटिङ गर्न पाउने व्यवस्था सहित मेसिन तयारी अवस्था मा छ ।’

कति खर्च लाग्छ ?
एउटा बुथका लागि एउटा भोटिङ मेसिनको आवश्यक्ता हुन्छ । जसलाई २० घण्टासम्मको व्याट्री व्याकअपका साथ तयारी अवस्थामा राखिन्छ । एक पटक किनेको मेसिनले साना ठूला गरी २० वर्षसम्म निरन्तर निर्वाचन गराउन सक्छ ।
पहिलो पटक मेसिन खरिद गर्दा एउटा मेसिनको लागि २ लाख नेपाली रुपैयाँ खर्च आउँछ । अप्रेसन खर्च नभएकाले निर्वाचन आयोग कै निगरानीमा मेसिन बनाइदिने रामलक्ष्मण बताउँछन् । तर, आयोगले हरेक वर्ष गर्ने खर्चलाई जोड्ने हो भने मेसिन सस्तो पर्ने उनीहरुको भनाइ छ।

आयोगले तत्परता नदेखाउँदा अच्चमित छौ : रामलक्ष्मण
विद्युतीय भोटिङ मेसिन मनाएका रामलक्ष्मणले स्वदेशमा बनेको मेसिन प्रयोग गर्न निर्वाचन आयोगले तत्परता नदेखाउँदा अच्चमित भएको बताएका छन् । सन् २००९ मा नै नेपालमा भारतबाट २ सय वटा भोटिङ मेसिन ल्याएर प्रयोग भएको सुनाउदै उनीहरुले विदेशबाट किन्न तयार हुने आयोग नेपालमा बनेको मेसिनलाई बेवास्ता गर्दै हिडेको दुखेसो उनीहरुको छ ।

‘मेशिनलाई अन्तराष्ट्रिय स्तरमा प्रमाणिकरण समेत गरिसकेका छौं ।’ उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘सफ्टवेयरका लागि नेपाल सरकारको प्रमाणिकरण कार्यलयले जारी गरेको डिजिटल सर्टिफिकेट समेतले यसको सुरक्षा गरेको छ । नेपाल सरकार र निर्वाचन आयोगले हामीले तयार गरेको भोटिङ मेशिन आयोगको निर्वाचनमा प्रयोग गर्छ भने जुनसुकै तहको सहयोग गर्न हामी तयार छौं । तर, बेला बखत विदेशबाट अर्बौको मेशिन किन्न तम्तयार हुने निर्वाचन आयोग र सरकार आफ्नै घरबाट मेशिन उत्पादन गर्न किन तत्परता देखाउँदैन, हामी अचम्मित भएका छौं ।’

यो मेशिनलाई नेपालमा सफलतापूर्वक प्रयोग गरिएपछि अन्य देशमा यसलाई नेपालको नामबाट विक्री गर्न सकिने प्रसस्तै संभावना रहेको उनीहरुले बताएका छन् । ‘नेपाल सरकार, राजनितिक दल, निर्वाचन आयोग लगायतलाई हामी यो भन्न चाहन्छौं कि, कि त मेशिनमा खोट देखाइदिनुपर्यो ? कि त नमुना प्रयोग सम्म गरिदिनुपर्यो ? यो काम देशको लागि गर्ने हो भने हामी पनि व्यवसायिक रुपमा केही पनि हेर्दैनौ, देशको लागि हाम्रो १२ बर्षे मेहनत कुनै रोयल्टी बिना निःशुल्क सरकारलाई दिन हामी तयार छौं’ उनीहरुले भनेका छन् ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  २ : ४२ बजे