आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

अन्तिम साउने सोमबार, पशुपतिमा हुने आरतीको केही झलक (तस्वीरहरु)



काठमाडौँ– सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

आज अन्तिम साउने सोमबार भएकाले पशुपतिनाथमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस्तै, आज व्रत समाप्त गर्ने दिन भएकाले पनि आरतीको समयमा भक्तजनको बाक्लै उपस्थिति देखिन्थ्यो । आज गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज पशुपति क्षेत्रमा अन्य दिनको तुलनामा धेरै नै भक्तजन उपस्थिति भएका थिए ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमास अनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।

 

 

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  १० : ४८ बजे