आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

प्रकाशको अन्तरकथा



काठमाडौं–अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ यतिबेला चर्चामा छ । प्रदीप विशेषता दर्शकमाझ ‘रोमान्टिक हिरो’को छवि बनाएका अभिनेता हुन् । उनी पुरानो छविलाई तोड्दै यसपटक ‘प्रकाश’ मा सुविधा सम्पन्न सहरबाट टाढा अर्थात् कर्णालीको जुम्लामा शिक्षक बन्न संघर्षरत युवाको भूमिकामा देखिएका छन् ।

हरेक फिल्म निर्माणको आफ्नै कथा हुन्छन् । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ निर्माण कथा आफैंमा रोचक छ । चकलेटी अभिनयमा रुचाइएका प्रदीप कसरी गम्भीर प्रकृतिको फिल्ममा जोडिए भन्ने चासो सर्वत्र छ । फिल्म आगामी भदौ १० गतेबाट दर्शकमाझ आउँदैछ ।

लकडाउन कारक
समिक्षात्मक र व्यापारिक रुपमा सफल फिल्म ‘प्रसाद’ पछि निर्देशक राउत ‘मेरो एउटा साथी छ २’ मा अनुबन्धित भइसकेका थिए । कलाकार फाइनल गरेर सुटिङ गर्ने सुरसार भइरहँदा कोभिड महामारी सुरु भयो । महामारीको लकडाउनले विश्वजस्तै नेपाल पनि ठप्प भयो ।

‘प्रसादको सफलतापछि त्योभन्दा राम्रो फिल्म बनाउनुपर्छ भन्ने मलाई चुनौती र दबाब थियो । लकडाउन भए पनि फिल्मका लेखक विकास सुवेदीसँग नियमित भेट भइरहन्थ्यो । फिल्ममा के गर्न सकिन्छ र कस्तो कथा ल्याउन सकिन्छ भनेर हामी मन्थन गरिरहन्थ्यौं’, निर्देशक दिनेश भन्छन्, ‘प्रसाद समाज र मान्छेको कथा थियो । त्यो भन्दा शक्तिशाली विषयवस्तु र नयाँ अवधारणा कसरी ल्याउन सकिन्छ भनेर विकाससँग नियमित छलफल हुन्थ्यो ।’

विकासले कर्णाली सुनाएपछि
फिल्मका लेखक विकास सुवेदी यात्रा गर्न रुचाउने युवा हुन् । लामो समय टेलिभिजन पत्रकारिता गरेका विकासले नेपालका अधिकांश जिल्लामा पाइला टेकिसकेका छन् । दिनेशसँगको भेटमा विकासले जुम्लाको कुरा गरेका थिए ।

‘विकासले कर्णालीमा धेरै समय बिताएकाले उसले मलाई त्यहाँको जीवनशैली, समस्यादेखि अनेक विषय सुनाएका थिए । म काठमाडौं छोडेर त्यति धेरै बाहिर जान्नँ । उसले कर्णालीको जीवनशैली, समस्या सुनाइरहँदा ममा ‘यस्तो पनि छ र’ भन्ने भयो’, दिनेश फ्ल्यासब्याकमा फर्किए, ‘त्यहाँको जीवनशैली र समस्यालाई फिल्ममा देखाउन पाए कस्तो होला लाग्यो । किनकी काठमाडौंबाट कर्णालीले हेर्ने नजर फरक छ । तर विकासले त्यही पुगी अनुभव बटुलेर आएकाले फिल्म बनाउन सकिन्छ कि सकिँदैन भन्ने बहस भयो ।’

दिनेशका अनुसार विकासले उनलाई कर्णालीको प्रतिनिधित्व गर्ने कथा के हुनसक्छ भनेर अवधारणा सुनाए । जुन अवधारणामा दिनेश ‘कन्भिन्स’ भए ।

प्रदीपसँग छलफल
नयाँ प्रोजेक्टका लागि प्रदीप खड्कासँग दिनेशको नियमित भेट भइरहन्थ्यो । यही क्रममा उनले कुरैकुरामा कर्णाली सुनाए । जुन कुराले प्रदीप उत्साहित भए । ‘मैले प्रदीपलाई प्रकाशको क्यारेक्टर गर्न अथवा उसलाई अफर गर्न सुनाएको थिइनँ । नियमित भेट भइरहँदा उसलाई कस्तो लाग्दो रहेछ भनेर शेयर गरेको थिएँ’, दिनेश भन्छन् ।

प्रदीप नै किन ?
प्रदीपसँगै कर्णालीका कुरा गर्नुपर्ने कारणबारे दिनेशको आफ्नै तर्क छ । रोमान्टिक फ्लेभरका फिल्ममा रमाइरहेका प्रदीपलाई दिनेशले कथा सुनाउँदा देखिएको प्रदीपको उत्साहले दिनेश नै ‘छक्क’ परेका थिए । ‘उसको उत्साह देख्दा ऊ आफूले सोचेजस्तो मान्छे होइन कि क्या हो भन्ने लागेको थियो । अर्थात फिल्मलाई उसले गम्भीर रुपमै सोच्दो रहेछ भन्ने अनुभुति भयो’, दिनेश खुल्छन्,‘प्रदीप व्यावसायिक कलाकार र दर्शकले स्वीकारिसकेको मान्छे हो । उसलाई लिएर क्यारेक्टरमा ढाल्दा अझ व्यावसायिक हुन्छ र हामीले भन्न खोजको कथा आम मानिसमा पुग्छ भन्ने लाग्यो ।’

जब प्रदीप ‘झस्किए’
दिनेशको प्रस्तावमा उत्साहित बनेका प्रदीप फिल्मको स्क्रिप्ट हातमा परेपछि ‘झस्किए’ । ‘दिनेश दाईले भन्नु भए अनुसार म उत्साहित भए पनि हातमा स्क्रिप्ट परेपछि म झस्किएँ । मेरो चरित्र पढेपछि ‘ओहो यो चरित्र निभाउन त अर्कै एक्सरसाइज गर्नुपर्छ’ भन्ने लाग्यो’, प्रदीप भन्छन्, ‘मैले यो चरित्रलाई न्याय दिन सकिनँ भने मैले अहिलेसम्म बनाइरहेको छवि गुम्ने हो कि भन्ने डर ममा थियो । त्यसकारण ब्याक हुन खोजेको थिएँ ।’

दिनेशको बुझाईमा प्रदीप ब्याक हुन खोजे पनि ‘प्रकाश’ को चरित्र निभाउने चाहना चाहिँ उनमा थियो ।

लकडाउनमा अभिनय कक्षा
लकडाउनमा सबै मानिसहरु घरमै बसिरहँदा प्रदीप चाहिँ रंगकर्मी अनुप बरालसँग अभिनय कक्षा लिन व्यस्त थिए । फिल्मका लागि उनले तौल घटाउनुपर्ने थियो । गाउँमा खेतीबाली गरेको युवकको भूमिकामा देखिनुपर्ने भएकैले उनले तौल घटाउनु अनिवार्य थियो । ‘अनुप बराल सरसँग अभिनयको कक्षा लिएपछि मलाई म गायक, पुलिस, डाक्टर बने पनि मेरो रियल प्रदीप जे हो म त्यही नै गरिरहेको भन्ने महशुस भयो । आफ्नो पुरानो हाउभाउबाट कहिल्यै बाहिर जान नसकेको अनुभव भएपछि हिँड्ने, बोल्ने शैलीमा परिवर्तन गर्नुपर्नेरहेछ भन्ने लाग्यो’, प्रदीप भन्छन् ।

के भन्छन् लेखक सुवेदी
लेखक सुवेदी ‘प्रकाश’ले जीवनका अंश र भोगाईलाई बोल्ने दाबी गर्छन् । ‘शिक्षक बन्न कति संघर्ष छ र शिक्षक बन्नुलाई हाम्रो समाजले कसरी लिन्छ । प्रकाशले भोलि म स्थायी हुन्छ या अस्थायी हुन्छु भन्ने पनि सोचेको छैन । उसलाई शिक्षकको जागिर पाउनु नै ठूलो चिज हो’, विकास भन्छन्, ‘हामीले जस्तो राम्रो हाम्रो कथा विदेशीले भन्न सक्दैनन् । कर्णाली हामीले भन्न छोडेको ठाउँ हो र कर्णालीको कथा चाहिँ हामीले भन्नुपर्छ भनेर नै प्रकाश लेखेको हुँ ।’

विकासका अनुसार कर्णालीमा सडक सञ्जाल नपुग्दाको समयमा बाहिरबाट कोही मान्छे जाँदा स्थानीयले ‘गोर्खाली आयो’ भन्थे । उनीहरु शिक्षकलाई चाहिँ ‘हाम्रो मास्टर’ भन्थे । ‘टिचरलाई आफ्नो मान्ने र बाँकी सरकारसँग जोडिने क्षेत्रका मान्छेलाई गोर्खाली मान्ने कुराले नै त्यहाँको बिम्बलाई झल्काउँछ’, विकास भन्छन् ।

विकास जुम्ला जाँदा सिञ्जामा बसेका थिए । उनी जुन घरमा बसेका थिए, त्यो घरकै आमाले ‘छोराले मास्टर बनेर मात्र बिहे गर्छु’ भनेको कुरा सुनाएपछि विकासलाई फिल्मको कथा सुरु गर्ने सोच आयो । ‘हामीलाई शिक्षक बन्नु सामान्य कुरा लाग्छ । किनभने हाम्रो सोचाईमा शिक्षक बन्न कसले संघर्ष गर्छ र भन्ने छ’, विकास भन्छन्, ‘आज स्कुलमा गएर विद्यार्थीलाई ‘भविष्यमा के बन्ने ?’ भनेर सोध्यो भने सबैले डाक्टर, इञ्जिनियर र पाइलट नै भन्छन् । तर शिक्षक भन्दैनन् ।’

दियाका कुरा
फिल्ममा अभिनेत्री दिया मास्केले ‘सीता’ चरित्रमा प्रदीपको आमाको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा दीया धेरैपछि फाइनल भएकी कलाकार हुन् । उनको अनुभवमा यो फिल्ममा काम गर्नु उनको लागि अवसर र चुनौती दुवै थियो ।

‘जोकोही कलाकारलाई नयाँ प्रोजेक्ट नयाँ नै लाग्छ । म केही ग्याप पछि यो फिल्ममा देखिएकी छु । यो फिल्ममा काम गरिरहँदा ममा केही अभ्यास छुटेको हो कि भन्ने अनुभव भयो’, दीया भन्छिन्, ‘मेरो चरित्र अलिक गहिराईमा पुग्नुपथ्र्यो । स्थानीय महिलाको चरित्रमा आफूलाई ढाल्नुपथ्र्यो । स्क्रिप्ट अनुसार अभिनय गरेकोले केही गाह्रो पनि भयो ।’

फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ७ : ३५ बजे