आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

रेनुका र प्रवीणलाई उपाधि



काठमाडौं–इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को उपाधि क्रमशः रेनुका राई र प्रवीण बर्देवाले जितेका छन् ।

रेनुका ताजसँगै १० हजार डलर र टोयोटा र्‍याम्भ फोर गाडी प्राप्त गरेकी छिन् । यस्तै प्रवीणले १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् ।

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन् ।

उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो ।
‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले पुरस्कार प्रदान गरेका थिए ।

शोमा संगीतकार शम्भुजित बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा कलाकारहरु साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ११ : ४३ बजे