आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

मिलनद्वारा विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा



काठमाडौं– विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले आइतबार विज्ञप्ती जारी गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका छन् । उनले पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि लामो समयदेखि पार्टीको नेतृत्व खाली थियो । मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेको चार दिनपछि नेता मिलनले पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।

उनले विज्ञप्तीमा भनेका छन्,‘‘विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकलन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ ।’

‘तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : श्रावण २९, २०७९ आइतबार  २ : १९ बजे