आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

गठबन्धन र सिट फाँडफाँट भदौभित्रै टुङ्गो लगाउनु पर्छ : खनाल



झापा – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ महिनाभित्रै दलीय गठबन्धन र सिटको बाँडफाँट टुङ्गो लगाइसक्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन झापाले आज (शनिबार) बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताए ।

नेता खनालले २०६२/०६३ को क्रान्तिका बाहक शक्तिहरू भएकाले अहिलेको पाँच दलीय गठबन्धन कायमै रहने तर पाँच दलीय गठबन्धनमा अन्य पार्टी समावेशको लागि बाटो खुल्ला रहेको समेत स्पष्ट पारेका छन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचन देश र आफ्नो भविष्य बनाउने सुन्दर अवसर भएको बताएका छन् ।

देश निर्माणको लागि संविधानले परिलक्षित गरेको मूल मन्त्रलाई स्वस्थ्य जनमत तयार गरेर निर्वाचनमा जुट्नुपर्ने नेता खनालको भनाइ छ । अबको निर्वाचनमा पार्टीसँगै सही उम्मेदवारको छनोट मतदाताले गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ६ : ३८ बजे