आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

भागबण्डामा देउवाले एकलौटी गरेको शेखर समूहको निष्कर्ष : निर्वाचनमा ४० प्रतिशत माग



काठमाडौं – शेखर कोइराला समूहको भेलाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा सरकार चलाएको आरोप लगाएको छ । बत्तिसपुतलीमा आज (शनिबार) भएको कोइराला पक्षको भेलाले सभापति देउवाले न्यायोचित व्यवहार नगरेको आरोप लगाइएको छ ।

राष्ट्रिय भेलाको पूर्व तयारीका रुपमा बसेको बैठकले सरकारमा भाग खोज्नुपर्ने निष्कर्ष निकालेको छ । ‘आठ महिनामा भएका दर्जन बढी निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नु भएन । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुभएन,’ जगदीश्वरनरसिंह केसीले भने, ‘यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँबाट न्यायोचित निणर्य हुँदैन ।’

शेखर समूहले आउँदो निर्वाचनमा ४० प्रतिशत भाग दाबी गरेको छ । ‘आउने निर्वाचनमा हामीले ४० प्रतिशत भाग पाउनु पर्छ । यो कुरामा सभापति गम्भीर हुन जरुरी छ,’ उनले भने । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कणर्, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति थियो ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ६ : १२ बजे