आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

वागमतीबाट चार मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौं – राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ वागमती सफाइ महाअभियानको ४८३ औँ हप्तामा तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका-९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता संस्था, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीलगायतको सक्रियता थियो ।

सो अवसरमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले छ वटा संस्थालाई ५०० लिटर क्षमताका फोहरबाट मल बनाउने बिन वितरण गरेका थिए । सहयोगी नगर क्रियापुत्री भवन तीनकुने, महानगरपालिका-३१ क्रियापुत्री भवन, पचली भैरव मन्दिर परिसर, जेष्ठ नागरिक समाज शङ्खमूल, कीर्तिपुर ज्येष्ठ नागरिक भवन र ललितपुर महानगरपालिका-४ नक्खु मन्दिर परिसरका लागि बिन वितरण गरिएको थियो । अबदेखि यी स्थानबाट निस्केका फोहरबाट मल बनाई उपयोग गर्न मिल्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वागमतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

नागरिकस्तरबाट स्वयंसेवीरूपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारले फोहर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ । राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहरको थुप्रो छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ । तीन तहका सरकार भए पनि कुनै पनि सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो अभियानकर्मीको छ । रासस

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ५ : ४० बजे