आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

ओलीको प्रश्न : प्रचण्ड, देउवा र नेपालले मैले जस्तै सारा सम्पत्ति राज्यलाई बुझाउन सक्छन् ?



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।

लोकतान्तित्रक शेर्पा संघद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

उनले नेकपा एमाले देश बनाउने शर्तमा मात्रै सरकारमा जाने पनि बताए । दशैंमा केटाकेटी रमाए जस्तो वा ल्होसारमा केटाकेटी खुशी भए जस्तो खुशी मनाउन मात्रै एमाले सरकारमा नजाने ओलीले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् । उनले भने, ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै ।’ अध्यक्ष ओलीले अगाडि प्रश्न गरे, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’

उनले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनले बताए । उनले नेपाली कांग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसकेर अरुको सहारा खोजिरहेको बताए । कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको उनको आरोप थियो । ‘प्रतिष्पर्धा भनेको लोकतन्त्र हो तर देशलाई द्वन्द्व र दुस्मनीतर्फ लगिरहेको छ,’ उनले भने, ‘यसमा विदेशी शक्तिले खेल्न सक्छन् ।’

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ४ : ४७ बजे