आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

वर्षमान पुन पोष्टबहादुर स्मृति प्रतिष्ठानको अध्यक्ष चयन



काठमाडौँ – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्त पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष चयन भएका छन् ।

प्रतिष्ठानको आज (शनिबार) सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । यस्तै उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर-१ का प्रतिनिसिधसभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिर समेत लोकप्रिय थिए ।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस-२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर-३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । बोगटीका एक मात्र छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य जस्ता सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ४ : ०२ बजे