आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

यसरी बढाउन सकिन्छ शरीरमा मित्र–ब्याक्टेरिया



हाम्रो पेट र आन्द्रामा दुई प्रकारका ब्याक्टेरिया पाइन्छन् । पहेलो प्रकारको ब्याक्टेरिया ब्याक्टेरियल फ्लोरा हो, जसलाई बेनिफिसियल ब्याक्टेरिया पनि भनिन्छ । यसको काम पेटको पर्यावरणलाई सन्तुलित र प्रणालीबद्ध राखेर प्राकृतिक अनुकूलता पैदा गर्नु हो ।

यसलाई पेटको ‘सुरक्षा सेना’ भने पनि हुन्छ । अर्काे थरी ब्याक्टेरियालाई प्याथोजेनिक ब्याक्टेरिया भनिन्छ । पहिलेको भन्दा विपरित स्वभाव हुने यो ब्याक्टेरिया पेट र आन्द्राको प्रणालीलाई गोलमाल गरी प्रदुषण फैलाउने प्रवृत्तिको हुन्छ । यसलाई पेटरुपी आरोग्य भूमिको खतरनाक शत्रुभन्दा फरक पर्दैन ।

उपयोगी प्रकृतिका ब्याक्टेरियाहरुमा बिफिडो, ल्याक्टो, बेसिली मुख्य छन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छन् । यिनको संख्या लाखौं–करोडौंमा हुन्छ भने हानिकारक व्याक्टेरियामध्ये क्लोस्ट्रिडिया निकै घातक प्रकृतिको हुन्छ । प्रसिद्ध क्यानेडियन डाक्टर क्लिफका अनुसार शत्रु ब्याक्टेरियाको सङ्ख्या मित्र ब्याक्टेरियाको भन्दा निकै बढी हुने गर्छ ।

बुझ्नुपर्ने कुरा के हो भने खानपान, आहारविहार दिनचर्या र विचार पद्धति त्यस्तो राख्नुपर्छ कि जसको प्रभावले उपयोगी तथा अनुकूल ब्याक्टेरियाहरुको सङ्ख्या बढ्दै जाओस् र तिनीहरु स्थिर रहन सकुन् ।

मित्र ब्याक्टेरिया बढाउने उपायहरु

  • ताजा, रेसायुक्त, प्राकृतिक एवं सन्तुलित खाना खाने ।
  • तयारी, डिम्बाबन्द खाना तथा जङ्कफुडको विकल्पमा ताजा खाना खाने ।
  • समय समयमा उपवास बस्ने
  • नियमित रुपमा व्यायाम, शारीरिक श्रम, खेलकूद तथा दौडमा सहभागी हुने
  • सन्तुलित पोषणयुक्त, हरियोपरियो, अङ्कुरित गेडागुडी, मेवा (सुख्खा फल) आदिको पर्याप्त सेवन गर्ने ।
  • स्थानीय गाईको दूध, दही, मही तथा घिउको सेवन गर्ने ।
  • सलाद, चोकरयुक्त अन्न, अर्गानिक तरकारीको प्रयोगमा जोड दिने र
  • प्राकृतिक तथा सकारात्मक जीवनशैली अपनाउने ।

साभारः ‘खाने कसरी ? पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  १० : ५५ बजे