आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

एक्स ९ बाट कमव्याक गर्दै सुदर्शन



काठमाडौं– २०७१ सालमा निर्मित अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्म ‘एक्स ९’बाट अभिनयमा कमव्याक गर्ने भएका छन् । हाल क्यानडामा बस्दै आएका सुदर्शनलाई त्यही पुगेर निर्देशक मुकुन्द भट्टले अनुबन्ध गरेका छन् ।

निर्देशक भट्टका अनुसार क्यानडामा समेत छायांकन गरिने फिल्मका केही दृश्यमा सुदर्शनको उपस्थिति हुनेछ । उनले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताए । सुदर्शनले राम्रो टिम र बलियो चरित्र भएकाले फिल्ममा काम गर्न इच्छुक भएको बताए ।

एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । उनी क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित छन् ।

फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ५ : २० बजे