आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

आज जनै पूर्णिमा, रक्षा बन्धन र क्वाँटी खाने दिन 



काठमाडाैँ– आज हिन्दु धर्मालम्बीहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावण पूर्णीमा अर्थात जनैपूर्णिमा ।

आज हिन्दुधर्मालम्बीहरुले अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाउदै छन् । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य)बाट वेद प्राप्त गरेको मान्यता छ । अत: यस दिनलाई वेदजयन्तीको रूपमा पनि मानिन्छ । 

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले हिजैबाट चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रात: सन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।

त्यसपछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद–वेदांगको पाठ गर्दछन् वा सुन्छन् ।

त्यसपछि आ–आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् ।

जनैपूर्णिमाका तीनपक्ष रहेका छन्, यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांगऋषितर्पणी । हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिकालागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ ।

शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ५ : ०० बजे