आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

अटिज्मको भूमिका निभाउन पुष्पको यस्तो संघर्ष



काठमाडौं– अभिनेता पुष्प खड्काले अटिज्म चरित्र निभाएको फिल्म ‘कृष्णलीला’ आगामी भदौ ३ अर्थात् कृष्ण जन्माष्टमीको अवसरमा रिलिज हुँदैछ । यसअघि उनी फिल्म ‘मंगलम’मा न्यूरोलोजिकल डिस अर्डरबाट पीडित युवाको भूमिकामा देखिएका थिए । यो फिल्मबाट उनले उत्कृष्ट नायकका रुपमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जिते ।

पुष्पका अनुसार ‘कृष्णलीला’ मा उनी ‘कृष्ण’को चरित्रमा छन् भने ‘लीला’को चरित्रमा श्रद्धा क्षेत्री छिन् । ‘फिल्ममा मलाई अटिज्म भएको युवाको भूमिका निभाउनुपर्छ भन्ने प्रस्ताव आयो । यो प्रस्ताव आउनासाथ मैले फिल्म दर्पणछायाँ २ सम्झिएँ । यो फिल्मको सुटिङमा अटिज्म भएका एक व्यक्ति नियमित आउँथे । उनलाई अरुले विभिन्न काम लगाउँथे । ऊ सोझो थियो र भनेको कुरा पनि मान्थ्यो’, पुष्प भन्छन् ।

पुष्पाले फिल्मका लागि तीन पात्रबाट अभिनयको कन्सेप्ट लिए । एक सुटिङमा भेटिएका ती व्यक्ति, अर्को उनकी भाञ्जी र उनको गाउँका ‘साइला बुवा’ । पुष्पले ४ वर्षकी भाञ्जीबाट, हाँस्ने, बोल्ने, हात खुट्टा चलाउनेलगायतका ज्ञान लिए । ‘साइला बाको शैली ट्युबलाइट जस्तै थियो । उहाँबाट पनि धेरै कुरा सिकें’, उनी भन्छन् ।

पुष्पले रंगकर्मी तथा अभिनेता आशान्त शर्मासँग १५ दिनको प्रशिक्षण लिएका थिए । आशान्तले उनलाई पुष्प १५ वर्षको उमेरमा गरेका गतिविधिलाई कपिमा उतार्न निर्देशन दिएपछि उनले आफूले सम्झिएका सबै गतिविधिलाई कपिमा उतारे ।

दीपक वली निर्देशित फिल्ममा पुष्पसँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, भावना गुरुङ, हिउँवाला गौतम, आयुष गुरागाईं, आयुषा क्षेत्री, पीताम्बर आचार्यलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  १२ : १३ बजे