आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्नुपर्ने एमालेको माग



काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न माग गरेको छ । आज (बुधवार) को प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका हुन् ।

उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाएका छन् । उनले भने, ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । हार्दिक माग गर्न चाहन्छु ।’

सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनर्स्थापना गर्ने सम्बन्धमा उदासीनता देखाएको बताएका छन् । उनले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गरे ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ३ : ०१ बजे