आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

यी हुन् हरेक गर्भवती महिलाले ध्यान दिनैपर्ने कुराहरू



महिलाका लागि गर्भावस्था विशेष समय हो । आमा बन्ने चाहनाले कतिपय महिलाले रोजगारीलाई समेत त्याग्छन् ।

तर गर्भमा रहेको शिशुको स्वास्थ्यबारे ध्यान पुर्याउन नसक्दा वा गर्भावस्थामा साधारण जानकारीको अभावमा महिलाले आफ्नो शिशु गुमाउने जोखिम हुन्छ । त्यसैले, गर्भवतीले महिलाले केही कुरामा विशेष ध्यान दिन आवश्यक छ ।

– पुरुषसँग संसर्ग भएपछि अन्तिम पटक महिनावारी भएको मितिबाट महिलालाई गर्भवती मानिन्छ । त्यस अनुसार महिलाले पहिलो ३ महिना र ६ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्छ । त्यसपछिको ३ महिनामा न्यूनतम २ पटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । अर्थात गर्भधारण भएदेखि शिशु नजन्मिएसम्म कम्तीमा ४ स्वास्थ्य जाँच गराउनु पर्दछ ।

– गर्भ धारण गरेको पहिलो ४ चार महिनापछि धनुष्टङ्कार र डिप्थेरिया खोप लगाउनु पर्छ । यो खोप डेढ महिनाको अवधि फरक पारेर कम्तीमा दुईपटक खोप लगाउन अनिवार्य छ । साथै चिकित्सकको परामर्श बिना फोलिक एसिड बाहेक अन्य औषधि सेवन गर्नुहुँदैन ।

– गर्भावस्थामा महिलालाई रक्तअल्पता र क्याल्सियमको कमी हुने गर्दछ । त्यसैले स्वास्थ्य चौकीमा बेलाबेलामा जाँच गराइरहनु पर्दछ । साथै नियमित रगत र पिसाब जाँच गर्नुपर्छ ।

– यदि उच्च रक्तचाप छ भने गर्भावस्थामा महिलालाई त्यसले झन् जोखिम निम्त्याउँछ । साथै, जुम्ल्याहा बच्चा छ भने पनि जोखिम हुन्छ । यसबाट बच्न क्याल्सियम खुवाउनुपर्छ । 

– गर्भमा रहने शिशु पूर्णतया आमाको भरमा हुने गर्दछ । त्यसैले गर्भावस्थामा महिलालाई अन्य समयभन्दा बढी मात्रामा पौष्टिक आहार र खाना आवश्यक पर्दछ । त्यसैले गर्भवती महिलाले हरेक दिन खानामा क्याल्सियम, प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेट लगायतका पौष्टिक तत्व तथा आइरन भएका खानेकुरा सेवन गर्नुपर्छ ।

– गर्भवती महिलालाई दैनिक ३–४ सयसम्म क्यालोरीयुक्त खानेकुरा आवश्यकता पर्दछ । साथै शरीरमा हुने डिहाइड्रेसनबाट बच्न गर्भवती महिलाले प्रशस्त पानी पिउनु पर्दछ ।

– गर्भवती महिलाले शरीरलाई बल नपर्ने गरी सामान्य एक्सरसाइज गर्न सक्छन् । सकेसम्म दैनिक २/३ किलोमिटर हिड्ने तथा हात, घाटिका एक्सरसाइज गर्नुपर्दछ । 

– गर्भधारणको सुरुको ३ महिना तथा अन्तिम अवस्थामा बच्चा खेर जाने सम्भावना हुन्छ । तसर्थ यस्तो बेलामा अत्यधिक मात्रामा शारीरिक परिश्रम गर्नु हुँदैन ।
ध्यान रहोस्, गर्भवती महिलाको शरीरका सबै अंग कमजोर र खुकुलो भएका हुने भएकाले सुत्केरी भइसके पछि ४५ दिनसम्म अनिवार्य आराम गर्नुपर्छ । त्यसपछिका दिनमा पनि साधारण काम गर्दै करीब ६ महिनापछि मात्रा अवस्था हेरेर पुराना काम गर्न सकिन्छ ।

प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार  ८ : २१ बजे