भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

छविलाल सिटौला सरको टेरेलिन सर्ट



जीवनको यो अविस्मरणीय क्षण २०२५ आश्विन महिनाको हो । छविलाल शर्मा सिटौंला (हेडसर) तेह्रथुम जिल्लाको आठराई र दमकको शैक्ष्किा क्षेत्रमा परिपूरक भएर रहनु भएको थियो । शिक्षा क्षेत्रमा दमकलाई आठराईले काँधमा बोकेर बसेको थियो । पूर्वी क्षेत्रमा आठराई शिक्षित क्षेत्र मानिन्थ्यो । तत्कालीन दमकको हिमाविले हाईस्कुलको स्वीकृति पाएपछि बि.ए.पास हेड मास्टरको खोजी हुँदै गर्दा मेघराज तिम्सिना सरको बिशेष पहलमा छविलाल सरलाई हिमाविमा ल्याइएको हुनाले २०१२ सालमा स्थापित हिमाविले २०२४ सालमा प्रथम पटक विद्यार्थीलाई एसएलसी परीक्षामा सम्मिलित गरायो ।

सम्मिलित हुने विद्यार्थीहरू हरिबहादुर राई, शान्त भट्टराई रमेश भट्टराई, बद्रीकुमार शर्मा, कोमल प्रसाई थिए । यस क्षेत्रमा एसएलसी गरेका मानिस नै थिएनन् भन्दा पनि हुने अवस्थामा शिक्षकहरू सबै बाहिरबाट वा आठराईबाट खोजेर ल्याईन्थ्यो । आठराई मूलपानीबाट छविलाल शर्मा सिटौलालाई बोलाएकाले उहाँ हिमाविको प्र.अ बन्नु भयो । तत्कालीन कार्यरत शिक्षकहरू दक्षराज शर्मा, नन्दबहादुर सुवेदी वाशुदेव गौतम, मेघराज तिम्सिना, पूर्णानन्द शर्मा (पि.एन सर) ध्रुव पराजुली, तोया पराजुली जस्ता सरहरूले यस विद्यालयमा अध्यापन गराउनु हुन्थ्यो ।

यसै क्रममा २०२५ सालको दशैं मान्न आ­आफ्नो घर जान दमकमा जम्मा भई आठराईतर्फ लागियो । मधुमल्ला, तोरीबारी हुँदै मावा खोलाको वल्लो र पल्लो किनार हुँदै चेपैचेप लागियो । तोरीबारीबाट मुसलधारे वर्षा शुरु भयो जाँदा जाँदै खोला बाढी बढेर तर्न नसकिने बाढी भयो । वारीपारी मुसलधारे वर्षाले बाटो बन्द भयो । मावा खोलामा १९ भङ्गगाला रहेछन्, १० औं भङ्गगाला तरिसकेपछि एघारौंको पालामा बाढी बढिरहेको थियो । हाम्रो समूहमा पूर्णानन्द सरको घोडालाई पनि खोलाको बाढीले लरबराउँदैं लडाउँन खोजिरहेको थियो । पूर्णानन्द सरलाई घोडाले निकाल्यो । म सानो केटो कक्षा ५ मा अध्ययन् गर्ने सबै सरले दुईपट्टि समातेर खोला तारिरहनु भएकोे थियो । हामी सबै तरिसक्न लागेका बेलै हाम्रा हेडसर छविलाल सिटौलालाई बाढीको मूल भङ्गगालाले बगायो । हाम्रा समूहका बलिया जवान दाइ बद्रीकुमार शर्माले सरलाई बगायो भन्दै झ्याम्मै खोलामा हाम फाले निकै तल पुर्‍यायो । बद्री दाइले सरको सेतो र कालो धर्को भएको टेरेलिन सर्टमा समात्न भ्याउनु भएछ र बल्ल खोलाको बाढीबाट निकाल्नु भयो । यसरी सरलाई बचाउनु भयो ।

अलि तल ठूलो गहिरो दह थियो । त्यहाँ पुर्‍याएको भए आज छविलाल सर भन्न पाउने थियौं कि थिएनौं ? सबै समूहका हामी आत्तिएर करायौं । बल्ल खुशी हुँदै केही समय आराम पछि पुनः यात्रा अगाडि बढायौं । आवश्यक स्थानमा पूर्णानन्द सरको घोडा मैले तानेर यात्रा अघि बढायौं । बेलुका साँझमा दिनभरि भिजेको शरीर र हिँडाइको थकानसहित टोड्के, कुसुन्डे पुगियो । बद्री दाइ र वासुदेव सर निकै फुर्तिला के खाने कसले पकाउने भन्दा भन्दै मेघराज सर सुटुक्क हराउनु भएको थियो । केही समय पछि दही, चिउरा खोजेर ल्याउनु भएछ । त्यही खाएर रात बित्यो । बिहान सबेरै सबै उठेर आठराई सक्रान्ति जाने बाटो लागियो । यासोक रानीगाउँ हुँदै तमोर नदी तरेर कर्कलेको ठाडो उकालो कर्कलेको पाटीमा चिसो पानी पिएर आराम गर्‍यै ।

त्यसपश्चात सक्रान्ति बजारबाट छविलाल सर र पूर्णान न्द सर मूलपानी उहाँको घर तिर लाग्नु भयो । अरू सरहरू आ­आफ्ना घरतिर र म मेरो घर आठराई हाङपाङतिर लागें । २०२५ सालको सात दिने वर्षाले चाँगे देविथान सिँबुवाको मेरो घर पुगेको भोलिपल्ट्ट घर पछाडिबाट गोर्जा गाउँको ढिस्को भत्केर बसेको घर नै झण्डै बगायो । रातको बेला छ, सबै जमिन हल्लिन्छ आमा भाइबहिनी मुस्किलले बाँच्यौं । बिहान उठेर हेर्दा सबैतिर पहिरो बाढीबगी रहेको त्राही­त्राहीमा बाँच्न सफल भईयो । पारी निवुखाम आसपासमा पनि स­साना पहिरो बगेको वर्षाकै कारणले सोबुवा खोलाले वारीपारी छेउछाउका धानबारी, मकैबारी, कोदोबारी सबै बगाएर लगेछ । पारी ताप्लेजुङ्ग पूर्वको हाङदेवा त ज्यादै प्रभावित, पहिरोले बनाएछ । जताततै ढिस्का झरेर खोलानाला पतपत भईरहेका त्यस वर्ष वर्षा बाढी पहिरोले गरेको ताण्डव त्यस भेगका मानिसहरूमा अहिलेसम्म पनि कहालीलाग्दो दुःखद स्मृति छ ।

स­साना फड्के पुल, झोलुङ्गे पुल आदि बगाएर आउजाउलाई समेत प्रभावित बनायो । दशैमा हामी आमा भाइबहिनी मामली घर खोकलिङ जाने तर्खरमा थियौं । दोभानबाट खोकलिङ जाने काठको पुल बाढीले बगाएको सुनियो । तरै पनि त्यहाँका मानिसहरूले बाँसको फड्के बनाएका रहेछन् । बाँसका चोयाले बाँस जोडेर बनाएको वारीपारी दुवैपट्टि ढुङ्गाको पर्खाल माथि बाँस राखेर बाँसलाई ठूल्ठूला ढुङ्गाले थिचेर बनाएको फड्के पुलबाट जेनेतेने मेवा खोला तरेर मामली खोकलिङ लिबाङ पुगियो ।

मामलीमा मामा माइजु, जेठा मामाका छोरा कुलबहादुर घरमा रहेछन् । त्यसपछि दशैको टीका लगाई दशै मनाइयो । त्यहाँबाट दशैको टीका लगाएर बूढो मावली पाथिभराको छेउ मयाम जाने भनेर लागियो । भर्खरैको बाढी पहिरो बर्षात हटेर मौसम सफा थियो । तर स­ साना खोलाका फड्के पुल सबै बगाएका रहेछन् । मुस्किलले बूढो मावली रातसाँझ गरेर पुगियो । सबै परिवारमा हाँसो र खुशीको सीमा रहेन । मीठो मसिनो खाएर सुत्यौं ।

भोलिपल्ट्ट बिहान उठेर वारीपारीतिर आँखा लगाउँदा पाखापरेखा र कुम्भकणर् हिमाल छर्लङ्गग देखियो । सबैतिर मौसम सफा भइसकेर वातावरण नै रमाईलो थियो । पुनः टीका लगाउने तर्खर भयो । हजुरआमैका दाजु मात्र थिए । हाँसीखुशी टीका लगाउँदा ठूलो मान्छे बन्नु धेरै पढ्नु भनेर आशिक र पाँच रुपैंयाको नयाँ नोट दिनु हुँदा म ज्यादै खुशी भई ढोग गरेँ । हाँसेर रमाएँ । त्यसपश्चात पुनः खोकलिङ मावली घर आईयो । एकदिन पछि आफ्नो घर सोबुवा देबिथान सबै परिवार आइयो । २०२५ सालको वडा दशै आ­आफ्ना नातागोता मान्यजनसँग अन्तिम टीका लगाइयो । दमकमा स्कुल लाग्ने बेला आयो सरहरू कहाँ कहाँ हुनुहुन्छ थाहा भएन । फोन थिएन प्रत्येक सरहरूको घरको ठेगाना पनि त थिएन । केही समय वरपर बुभm्यौं पत्ता लागेन । खोकलिङका मामा टेकबहादुर अधिकारी दमक खेतीमा झर्ने कुरो आयो ।

मामा घरमा आउनु भयो र मामासँगै पहिलाको बाटो आठराई सक्रान्ति, ढल्केवर, कर्कले, यासोक, रानीगाउँ हुँदै पेरुङगेको चेपैचेप छविलाल सर बगाउने मावाखोला चेपैचेप झरेर दमक आइपुग्यौं । सबै सरहरू आइसक्नु भएको रहेछ । स्कुल लागेछ । पहाड जाने सरहरूसँग भलाकुसारी गरी पढाइतिर लागियो । यसरी क्रमिक रुपले समय बित्दै गयो । पढाइको स्तर माथि हुँदै गयो । २०३६ सालमा मैले एसएलसी उत्तीणर् गरे । केही महिना पछि भृकुटी प्रा. वि.मा शिक्षक खाली भएछ । समितिका अध्यक्ष भगतबहादुर क्याप्टनले बोलाउनु भयो । हिमाविका प्र.अ. छविलाल सिटौंलाले मासिक तलब रू २५५ खाने गरि नियुक्ति दिनु भयो । त्यसताका उक्त भृकुटी प्रा.वि.मा प्र.अ. भवानीप्रसाद गौतम थिए । चित्रवर राई, कोमल प्रसाई, नारायण शर्मा, भवानी मिश्र, आदि सरहरूले त्यहाँ शिक्षण गरेर जानु भएछ ।

पछि मेरा दौतरीहरू राजमणि पोखरेल, बिसन राई, गोविन्द ढकाल, ओलाङचुन देवान, आदि थिए । यहि क्रमले २०३७ सालदेखि २०४२ सालसम्म शिक्षण पेशा गर्दै थिएँ । २०४३ सालमा स्थानीय निकायको चुनाब आयो । चैत्रमा चुनाव हुने कुरा थियो । मलाई २०४३ भाद्रमा पञ्चायत विरोधस् भनी प्र.अ. सञ्चालक समितिका अध्यक्षकोे मिलेमतोमा शिक्षा अधिकारीलाई दुई महिने वर्षे बिदामा जिशिअबाट पत्र कटाएर हुलाकबाट अवकास पत्र दियो । सञ्चालक समिति अध्यक्ष जसले मलाइ अवकास गरे उनैको विरुद्धमा म वडाअध्यक्षको उम्मेद्वार बने र हराएँ ।

त्यसपश्चात जनताको सेवा, वडाको विकासमा तल्लीन भएर लागेँ । दमक-१ मा बाढी पसेर जनताहरू त्राहीत्राही भएका थिए । क्रमिक रुपले खोला थुनियो बाढी रोकियो । आजसम्म दमक-१ मा बाढी पसेको छैन । भृकुटी निमाविको सञ्चालक समितिमा रही भवन निर्माण तार घेराबारा गर्दै हाल मा.वि भई सञ्चालनमा छ । दमक क्षेत्रका विभिन्न संघ संस्थाहरूमा रही समाजसेवामा तल्लीन छु ।
(लेखक झापा दमक-१ निवासी हुन्)

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ७ : ५१ बजे