भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

महिला मात्र होइन पुरुष पनि हुँदैछन् यौन हिंसाको सिकार 



काठमाडौँ– तपाई हामीले महिला यौन हिसांको सिकार भएको घटना सुनेका छौँ, पढेका छन् । तर पछिल्लो समय महिला मात्र होइन् पुरुष पनि यौन हिंसाको सिकार हुन थालेका छन् । 

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा बस्दै आएका शरद राज निरौला पनि यौन हिंसाको सिकार भएका छन् । उनी आफै पनि धेरै ठाँउहरुमा यस प्रकारको घटनाहरूबाट पीडित भएको बताउँछन् ।

पछिल्लो समय पुरुषमाथि हुने यौन हिंसा सार्वजनिक स्थलहरूमा हुने उनी भन्छन् । 

उनले भने, ‘ म धेरै पटक सार्वजनिक स्थलमा यौन हिंसाको सिकार भएको छु ।’सडकमा हिँड्दै गर्दा विभिन्न अपाच्य इसाराका भाषाहरूको प्रयोग गर्ने जस्ता कार्यहरूले आफू पीडित भएको उनले अनुभव सुनाए । विशेषगरी आफ्नो परिवारसँगै भएको अवस्थामा समस्या हुने गरेको बताए ।

उनी भन्छन् “ मानिसहरू महिला माथि मात्रै यस प्रकारको घटना घटन सक्छ भन्ने सोच्छन् तर पुरुष पनि यस प्रकारको घटनाहरूको सिकार हुने गरेका छन् ।

बेलुकाको समयमा आफूहरुलाई हिड्न समेत अप्ठ्यारो हुने गरेको उनको गुनासो छ । उनी जस्तै समाजमा थुप्रै पुरुषहरू रहेका छन् जसले समाजले के भन्ला भन्ने डरले आफूले भोगेको समस्या भन्न डराउने गरेको मनोविद् बताउँछन् ।  

 मनोविद् करुवा कुँवर भन्छिन्, ‘हाम्रो समाज नै पुरुषप्रधान समाज भएको कारण पनि पुरुषलाई पनि विभिन्न प्रकारका यौन हिंसा हुन सक्छ भन्ने बुझाई कम भएको कारण आफूले भोगेका समस्याहरू खुलेर बताउन नसक्ने अवस्थाहरू सिर्जना हुने गरेको छ ।  

त्यस्तै, यस्तो कुराहरू खुलेर भन्दा उनिहरु माथि नार्मद जस्ता शब्दको प्रयोग हुने, समाजमा कमजोर ठानिने डरले गर्दा पनि आफ्नो समस्या खुलाउन नसक्ने देखिन्छ

तर पछिल्लो समय भने कतिपय पुरुषहरूमा पनि अब हामी पनि बोल्नु पर्छ सहेर बस्नु हुँदैन भन्ने सोच र चेतनाको वृद्धि भएको कारण पछिल्लो समय कतिपय पुरुषहरूले अब चै हाम्रो बारेमा पनि कुरा गर्न सकिदाे रहेछ भन्ने चेतना बढ्दै गएकाले यसबारे खुलेर बोल्ने गरेको उनको भनाई छ । 

त्यस्तै पछिल्लो समय बालकहरू पनि बलात्कार हुने घटनाहरू बाहिर आउने गरेको छ । मनोविद् कुँवरको अनुसार यदि यस प्रकारका कुरा लुकाएर राखेको खण्डमा उनीहरूलाई आफू प्रति लाजको अनुभूति हुने , मनोवैज्ञानिक हिसाबले विभिन्न असरहरू पर्ने र यसले भविष्यमा गम्भिर असर गर्ने जस्ता समस्याहरू हुने गर्दछ ।

त्यसकारण यस प्रकारको घटनाहरूलाई पुरुषहरूले पनि नलुकाएर हामी पुरुषहरू पनि यस्तो घटनाबाट मुक्त छैनौ भनेर समाजमा भन्ने जस्ता कार्यहरूमा जोड दिनुपर्ने उनको भनाई छ ।

यसैगरी,  विभिन्न सम्बन्धित निकायहरूले यस तर्फ आफूहरूको ध्यान केन्द्रित भएको बताए । त्यस्तै यस तर्फ नेपाल प्रहरीको पनि विशेष ध्यान केन्द्रित भएको जनाएको छ । 

चाबहिल सामुदायिक प्रहरी केन्द्रका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले उक्त विषयमा आफूहरूले विशेष ध्यान दिएर यसको समाधान तर्फ अघि बढ्ने बताए । तर प्रहरीले बाटोमा उभिएको भरमा नै कसैलाई पनि पक्राउ गर्न समस्या हुने भएकाले पहिलो प्राथमिकता भने वडाको नै रहेको उनको भनाई छ ।

त्यस्तै यस विषयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीले हाल यस प्रकारको घटनाहरू घट्ने गरेको र आफूहरूको पनि यसतर्फ विशेष ध्यान गएको बताउँदै समाधानको लागी कमिटी गठन गरी यसको समाधान तर्फ अघि बढ्ने बताए ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ८ : १६ बजे