भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

बाघको छालासहित चार जना पक्राउ



कैलाली – संरक्षित वन्यजन्तु बाघको एक थान छाला र करिब दुई किलो हड्डीसहित चार जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर ओली, कैलाली चुरे गाउपालिका-६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ बस्ने राजेन्द्र सिंह भण्डारी छन् ।

अवैध किसिमको बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीसमेतबाट खटिएको प्रहरीले बुडरबाट धनगढीतर्फ आउँदै गरेको सु प प्र ०४-००१ च ०००६ नम्बरको बोलेरोलाई रोक्न खोजेको थियो । समिर ओलीले चलाएको उक्त बोलेरो नरोकेपछि प्रहरी पछिपछि गएको र बोलेरोको सिटमा लुकाई ल्याएको उक्त छाला र हड्डीहरू फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

समिरले बुडरबाट बोलेरो जीप चलाएर ल्याएको फल्टुडेमा बाघको छाला र हड्डीसहित टेकबहादुर र धिरेन्द्रले उक्त सवारी साधन प्रयोग गरी राजेन्द्र सिंह समेतको मिलेमतो रहेको प्रहरीले जनाएको छ । अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले उनीहरूले ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई जिल्ला वन कार्यालय कैलालीमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ९ : १५ बजे