भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

काठमाडौंको पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरुसँग पर्यटनमन्त्रीको छलफल



काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (शुक्रबार) काठमाडौं उपत्यकाका मेयरहरुसँग भेटवार्ता गरेका छन् ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नु पर्ने मन्त्री श्रेष्ठले बताएका छन् । उनले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना जानकारी गराउँदै उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताएका छन् । उनले कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने विषयहरूबारे जानकारी दिँदै सहकार्य गरी अघि बढ्नु पर्ने बताएका छन् ।

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना छ । साथै विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ ’ सिटी बस सञ्चालनमा ल्याउने योजनारहेको बताउँदै उनले स्थानीय तहबाट सहयोगको अपेक्षा गरे । महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्न लागिएको पनि उनले मेयरहरुलाई जानकारी गराएका थिए ।

पर्यटन आगमन बिन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपत्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरू घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्नेलगायत बिषयमा छलफल भएको थियो । साथै सो अवसरमा रात्रीकालिन पर्यटन प्रारम्भ र प्रवर्द्धनमा हुने चुनौतिबारे पनि छलफल भएको थियो ।

महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्विक तथा सांस्कृतिक पदमार्ग निर्माण, साइक्लिङ र अन्यपर्यटन पुर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे धारणा राखे । उनीहरुले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाहरूबारे पनि जानकारी दिए । पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।

छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत लगायत उपस्थित थिए ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ७ : १४ बजे