भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

रेसुङ्गा नगरपालिकाले प्लस-टु पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार उपलब्ध गराउने



गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले यस बर्षको एसईई परीक्षामा ३.२ जिपीए भन्दा माथि अंक ल्याई उत्तीण भई प्लस-टु पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

उक्त बिशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले शुक्रबार एक समारोहबीच घोषणा गरेका हुन् । उनले रेस्ुङ्गा नगरपालिकाभित्र घर भएका र पालिकाभित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई मासिक चार हजारका दरले रकम उपलब्ध गराउने गरी कार्यक्रम ल्याइएको बताए ।

पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै बिशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडि सारिएको सुनाए । ‘गरिव विपन्न वर्गकका छोराछोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्’, उनले भने, ‘वडाध्यक्ष ज्युहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँबाट ल्याउने ? भन्ने चिन्ता नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधि अनुसारका विद्यार्थीहरुलाई मासिक चार हजारका दरले छात्रवृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ ।’
त्यस नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत भक्तिराम मरासिनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले बिशेष गरी पढाईका कारण गाउँ छाडेर शहरका बिद्यालय जान बाध्य बिद्यार्थीहरुलाई रोक्न मद्दत पुग्ने धारणा राखे ।

त्यस पालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद भण्डारीले यस बर्षको एसईई परीक्षामा ३.६ भन्दा माथि ३६ जना र ३.२ भन्दा माथि १०६ जना गरी १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक चार हजारका दरले छात्रवृति स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधि समेत बनाएर कार्यक्रम लागू गर्न लागिएको बताए ।

घोषणा सभालाई सम्बोधन गर्दै मेयर पन्थीले यसअघि नगरपालिकाले अगाडि सारेको निःशुल्क आँखा उपचार गरिने कार्यक्रमले निकै ठूलो सन्देश दिएको, अस्ती मात्र ८ जना दृष्टिविहीनहरुको शल्यक्रिया गर्दा उनीहरुले आशिष दिएको र अव छिट्टै गुल्मी अस्पतालमा डाईलसिस गर्ने मेशिन उपलब्ध गराई मुटुलगातका दीर्घरोगीहरलाई निःशुल्क डायलिसस सेवा उपलब्ध गराउँदा गरीव विपन्न वर्गले ठूलो राहत महसुस गर्ने बताए ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ६ : ५७ बजे