भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

पारससहित सात खेलाडीलाई सर्वकालीन सम्मान



काठमाडौँ – खेलकुद क्षेत्रबाट राष्ट्रका लागि पदक दिलाएका विभिन्न विधाका सात खेलाडीलाई आज (बिहीवार) सर्वकालीन सम्मान गरिएको छ । हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवमा नेपाली खेलकुदबाट राष्ट्रका लागि विभिन्न कालखण्डमा पदक दिलाएका खेलाडीलाई सम्मान गरेको हो ।

ललितपुरमा आयोजना भएको कार्यक्रममा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, ओलम्पिकमा छनोट चरण पार गर्ने पहिलो ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट पूर्व कप्तान पारस खड्का र सागको एकै संस्करणमा सर्वाधिक चार स्वर्ण पदक विजेता पौडीकी गौरीका सिंहलाई सम्मान गरिएको हो । सर्वकालीन सम्मानबाट सम्मानित भएका सातै खेलाडीले नगद २५ हजार रुपैयाँसहित सम्मान पत्र पाएका छन् ।

उनीहरुलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाईं, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ९ : ३० बजे