भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो



काठमाडौँ – वैकल्पिक खेलाडी गुरकिरात सिंहले अन्तिम मिनेटमा गरेको गोलमा भारतले मंगलबार यू-२० साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १-० ले हराएको छ । जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा अन्त्य भएको छ ।

आजै सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो । बराबरीमा रोकिएपछि नेपालको फाइनल पुग्ने झिनो आशा बाँकी थियो । त्यसका लागि दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराउनु पर्ने थियो । तर, माल्दिभ्सले भारतलाई हराउन सकेन । अन्तिम मिनेटमा गुरकिरात सिंहले गरेको गोल भारतको जितमा निणर्ायक बन्यो । गुरकिरात ३० औं मिनेटमा विनय हारजीतको स्थानमा मौदान छिरेका थिए ।

भारतले अब प्रतियोगिताको फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश प्रतियोगितामा एक मात्र अपराजित टिम हो । बंगलादेशले भारतलाई २-१ ले हराएको थियो भने नेपालसँग १-१ को बराबरी खेलेको थियो । बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । माल्दिभ्सलाई ४-१ ले हराएको थियो ।

भारत पहिलो खेलमा बंगलादेशसँग पराजित भए पनि श्रीलंकालाई ४-० र नेपाललाई ८-० ले हराएको थियो । भारतको ९ अंक छ भने बंगलादेशको १० अंक छ । गत संस्करणमा पनि भारत र बंगलादेशले फाइनल खेलेका थिए । फाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो । तर, गत वर्ष १८ वर्ष मुनीको उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ९ : ४५ बजे