भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

पहिलोपल्ट घट्यो मेटाको आम्दानी



काठमाडौँ – अमेरिकी प्रविधि कम्पनी मेटाको त्रैमासिक आम्दानी पहिलोपल्ट घटेको छ । बुधबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२२ को दोस्रो त्रैमासमा मेटाको आम्दानी २८ अर्ब ८० करोड अमेरिकी डलरमा झरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको आम्दानी २९ अर्ब १० करोड डलर थियो । अन्य कम्पनी जस्तै अहिले मेटाले बलियो अमेरिकी डलरको कारण पनि आम्दानीमा गिरावटको सामना गरेको हो ।

कम्पनीले तेस्रो त्रैमासमा आम्दानी अझै घटेर २६ अर्ब डलरमा आइपुग्ने अनुमान गरेको छ । मेटाको प्रमुख कम्पनी फेसबुकको सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९३ करोड पगेको छ । त्यस्तै दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९७ करोड पुगेको छ ।

यसअघि मंगलबार अल्फाबेटले आफ्नो आम्दानी बढेको विवरण सार्वजनिक गरेको भए पनि स्न्यापच्याट र ट्वीटरले भने अपेक्षाअनुसारको आम्दानी हासिल नभएको विवरण सार्वजनिक गरेका थिए । आर्थिक दबाबका बीच मेटाको प्रमुख व्यवसाय फेसबुकले पनि टिकटक जस्तै छोटो भिडियोको अवधारणालाई पनि अघि बढाइरहेको छ । त्यस्तै अहिले फेसबुकले अन्य केही महँगा योजना पनि अघि सारिरहेको छ । एजेन्सी

प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार  १२ : २१ बजे