आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

क्यानडाका नेपालीले मनाए ‘काराब्रम’, क्यानडियन मन्त्री, सांसद र मेयर उपस्थित



टोरन्टो– बहुसांस्कृतिक परम्परा तथा पर्वहरु अभ्यास गर्ने देशहरुमा क्यानडा पहिलो नम्बरमा पर्छ । यहाँको सरकारले विभिन्न देशका संस्कृति, पर्व तथा परम्परालाई जीवित राख्ने कार्यक्रमहरु गर्न स्थान, बजेट तथा सुरक्षाको प्रबन्ध गर्ने र प्रधानमन्त्री, मन्त्री, सांसद तथा मेयर स्वयम् कार्यक्रममा उपस्थित हुने प्रचलन छ ।

ग्रेटर टोरोन्टो क्षेत्रमा पर्ने ब्राम्टन सिटीले प्रत्यक वर्ष काराब्रम (बहुसांस्कृतिक पर्व) को आयोजना गर्ने गर्दछ । यो कार्यक्रममा नेपालीहरुको उल्लेख्य मात्रामा सहभागिता र सांस्कृतिक प्रर्दशन रहने गर्दछ ।

यो वर्षको जुलाई ८, ९ र १० तारिखको दिन ग्रेटर टोरोन्टो एरियामा पर्ने ब्राम्टन शहरले ४०औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरिएको बहुसांस्कृतिक पर्वमा नेपालीहरुको प्रतिनिधित्व गर्दै क्यानडाका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेपिलिज कम्युनिटी नेट वर्क अफ क्यानडा (एनसीएनसी) को संयोजनमा तीन दिनसम्म धुमधाम कार्यक्रमको आयोजना गरिएको थियो।

यस कार्यक्रमलाई सफल पार्न पशुपतिनाथ मन्दिर (एनसीएचसी), नेवा गुठी र नेपाल जनजाति संघ क्यानडाले सहयोग गरेका थिए । पशुपति मन्दिरको तर्फबाट अध्यक्ष डा. लिला भन्डारीको नेतृत्वमा आएको भजन टोलीको साथमा राष्ट्रिय लोक गायक पुरुषोत्म न्यौपानेले समेत् आफ्नो प्रस्तुति दिएका थिए ।

यस कार्यक्रममा उल्लेख्य रुपमा नेपालीको सहभगिता रहेको थियो । काराब्रम पर्वमा अहिलेसम्म गैर आवासीय नेपाली संघ क्यानडाले संयोजन वा सहयोग गरिरहेको थियो । यस पटक भने बहुसांस्कृतिक पर्वलाई महत्व नदिई कार्यक्रमको अन्तिम दिन वनभोज कार्यक्रममा रमाईरहेको देखिन्थ्यो। संस्थाले यो कार्यक्रममा दोस्रो पटक भागलिएको एनसीएनसीका अध्यक्ष नरबहादुर क्षेत्रीले बताउनु भयो । यस कार्यक्रमलाई संयोजक राम कृष्ण रेग्मीले संचालन गर्नु भएको थियो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा कोरियोग्राफर स्वीकृति खड्कालगायत विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

काराब्रम (वार्षिक बहुसांस्कृतिक पर्व) को नामले परिचित यो वार्षिक कार्यक्रममा ब्राम्टन सिटिका मेयर प्याट्रिक ब्राउनले नेपाली कल्चर तथा नेपाली स्वादिस्ट म.म. को ढकन खोली कार्यक्रमको उदघाटन गरेका थिए । साथै नेपाली कला संस्कृति, नेपाली म.म. को स्वादको प्रशंसा गरे । साथै, मन्त्री तथा सांसदहरुले शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्तिम दिन क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले संबोधन गर्नु भएको थियो । एनसीएनसीका अध्यक्ष क्षेत्रीले नेपालको कला, संस्कृति, परम्परा, नाच गान प्रोत्साहन गर्न यो अवसर दिएकोमा ब्राम्टन सिटिका मेयर प्याट्रिक ब्राउन, राजदूत ढुंगाना, एनसीएनसीका पदाधिकारीहरुलगायत अहोरात्र खट्ने संस्थाका सभापति पशुपति पोख्रेल , सचिव छवि शर्मा र संयोजक राम कृष्ण रेग्मीलगायत सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई हार्दिक आभारका साथै धन्यवाद ज्ञापन गरे । क्षेत्रीले आगामी कार्यक्रमहरुमा यस्तै उल्लेख्य सहभागिता जनाईदिनु पनि अनुरोध गरे ।

प्रकाशित मिति : असार २९, २०७९ बुधबार  ८ : ३६ बजे