भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

श्रीलंका जस्तै आर्थिक संकट आए नेपाल र पाकिस्तानमा कस्तो असर पर्ला ?



काठमाडौँ– श्रीलंका यतिबेला ठूलो संकटको घडीबाट गुज्रिरहेको छ ।

अहिले त्यहाँको आर्थिक दुर्दशाको अवस्था दक्षिण एसियाका धेरै देशमा देखिएको जस्तो छ । तर यस प्रकारको आर्थिक संकटलाई नियन्त्रण गर्न यी देशहरूमा जुन राजनीतिक नेतृत्व क्षमता हुनुपर्ने हो, त्यो भने देखिएको छैन । दक्षिण एसियाका धेरै देशमा आर्थिक संकटसँगै राजनीतिक नेतृत्वको सङ्कट पनि देखिन थालेको छ ।

श्रीलंका यसरी असफल राष्ट्र हुन्छ भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो । यहाँको आर्थिक अवस्था राम्रो थियो । आर्थिक परिसूचक पनि राम्रै थिए । तीन वर्षअघि मात्रै श्रीलंकाको अर्थतन्त्र उदीयमान गतिमा चलिरहेको थियो । तर, श्रीलंकाको आर्थिक अवस्था जसरी खस्किँदै गएको छ, त्यो राजनीतिक नेतृत्वको कमजोरीको परिणाम हो । अर्थतन्त्रलाई बिग्रनुबाट जोगाउन देशको नेतृत्व असफल भएको छ ।

यो आर्थिक संकट दक्षिण एसियाका एकपछि अर्को धेरै देशमा देखिएको छ । पाकिस्तानको अवस्था होस् वा नेपालको आर्थिक मन्दीको प्रश्न, सबैतिर यस्तै वातावरण देखिन्छ । यस्ता संकटहरू एउटै पर्खालमा सीमित हुँदैनन् । जुन आक्रोश आज श्रीलंकामा देखिएको छ, भोलि त्यही आक्रोश नेपाल वा पाकिस्तानमा पनि देखिन सक्छ । यो दक्षिण एसियाका लागि ठूलो चिन्ताको विषय हो ।

पाकिस्तान र नेपालजस्ता दक्षिण एसियाली मुलुकले यस्तो संकटलाई नियन्त्रण गर्न सफल होलान् कि भन्ने प्रश्न उठेको छ । यी देशका वर्तमान राजनीतिक नेतृत्व र राजनीतिक संरचनाले यस्तो संकट टार्न सक्लान् ? यो शंकाको घेरामा नै छ । 

नेपालमा पनि यस्तो आर्थिक संकट आयो भने राजनीतिक तहबाट समाधान होला भन्नेमा शंका छ । 

नेपालमा श्रीलंकाजस्तो आर्थिक संकट आयो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता राजनीतिक नेतृत्वमा छैन । किनभने यहाँ पनि राजनीतिक विभाजन निकै गहिरो छ । त्यसैले अवस्था यस्तो छ कि यस समयमा राजनीतिक र आर्थिक दुवै समस्या एकसाथ उभिएका छन् र दक्षिण एसियाका जनता त्यसबाट पीडित छन् ।

श्रीलंकाको आर्थिक दुर्दशामा चीनको हात

चीन, पाकिस्तान र नेपाल तीनै ठाउँमा चीनको स्वार्थ छ । प्रश्न छ, श्रीलंकाले चीनमा खेलेको भूमिकालाई कसरी हेर्ने ? वास्तवमा श्रीलंकामा चीनका कदम निकै गैरजिम्मेवारपूर्ण रहेको छ । चीनले श्रीलंकालाई ठूलो परिमाणको ऋण दियो र लगानी गर्यो । श्रीलंकामा यसको ठूलो प्रभाव पनि थियो ।

श्रीलंकाको अहिलेको आर्थिक दुर्दशाको लागि चीन पूर्णतया जिम्मेवार छ भन्न नसकिए पनि यो नै दुर्दशाको प्रमुख कारण भने बनेको छ । जब पैसा कमाउने कुरा आयो, चीन सबैभन्दा अगाडि थियो । चीनले राजापाक्षे परिवारलाई धेरै पैसा दिएको थियो । 

चीनले राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर काम गरेको छ । चीनले श्रीलंकाली नागरिकलाई बेवास्ता गर्दै राजापाक्षे परिवारमा पूर्ण ध्यान दिएको छ । श्रीलंकाली जनताले राजपाक्षे परिवारको सम्पत्ति बढ्दै गएको तर देशको आर्थिक अवस्था नाजुक भईरहेको महसुस यसअघि नै गरेका थिए । 

तर, श्रीलंकालाई सहयोग चाहिएको बेला चीन कतै देखिएन । पछिल्लो ६ महिनादेखि श्रीलंकाको आर्थिक अवस्था खस्किन थालेको थियो । कोभिडका कारण श्रीलंकाको आर्थिक स्थितिमा परेको धक्काबाट आफूहरू मुक्त हुन नसक्ने श्रीलंकाली नागरिकले बताए । तर, यस अवधिमा चीनले श्रीलंकालाई सहयोग गर्न कुनै पहल गरेको देखिएन ।

याे पनि, श्रीलंकाको अर्थतन्त्र के कारण ध्वस्त भयो ?

श्रीलंकाको समस्यालाई ध्यानमा राखेर चीनले जसरी हात तानेको छ, त्यसबाट धेरै देशले पाठ सिक्नुपर्छ । जहाँ पैसा कमाउने कुरा आउँछ, चीन अगाडि देखिन्छ, तर जहाँ मद्दत गर्ने वा समस्या समाधान गर्ने कुरा आउँछ, चीन पछाडि देखिन्छ ।

यो समयमा पनि श्रीलंकामा चीन देखिँदैन । यतिबेला अन्र्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र भारत सहयोगका लागि उभिएका छन् । श्रीलंका अब मद्दत माग्न लागि आईएमएफमा जाँदैछ । चीनले आफ्नो ऋणको पुनर्संरचनाका लागि उठाएको वार्तालाई श्रीलंकाले ध्यान दिएको छैन । चीनको आर्थिक प्रभाव रहेका पाकिस्तान नेपाल जस्ता देशमा श्रीलंकाकोजस्तो अवस्था नआओस् ।

श्रीलंकाको अबको बाटो के छ त ?

श्रीलंकाको स्थितिमा अब अगाडि बढ्ने बाटो के छ ? श्रीलंकामा सबै राजनीतिक दलहरू सर्वदलीय सरकार बनाउने कुरा गरिरहेका छन् । तर त्यसले मात्र काम गर्दैन । सरकारका सबै घटक दलले सहमतिबाटै योजना बनाउनुपर्छ ।

उनीहरुले आपसी सहमतिमा बनेको योजनामा मात्रै आईएमएफमा जानुपर्नेछ । त्यहाँको आर्थिक अवस्था सुधार गर्ने सहमति योजना नभएसम्म आईएमएफ कुनै ठोस सहयोगका लागि तयार हुँदैन । श्रीलंकाको राजनीतिक अवस्था सुधार नभएसम्म आईएमएफले पनि केही गर्न सक्दैन । उनको हात पनि बाँधिएको छ ।

(हर्ष पन्तले बीबीसी हिन्दीमा लेखेको लेखलाई एकराज बास्तोलाले भावानुवाद गरेका हुन्)
 

प्रकाशित मिति : असार २८, २०७९ मंगलबार  ५ : ४७ बजे