आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

गगनले प्रधानमन्त्री दाबी गर्नु स्वभाविक हो, मेरो समर्थन रहन्छ: विश्वप्रकाश



काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले आगामी प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारे समर्थन गर्ने बताएका छन् ।

कांग्रेस निकट जनसम्पर्क अमेरिकाले नर्दन क्यालिफोर्नियामा गरेको कार्यक्रममा महामन्त्री शर्माले आगामी प्रधानमन्त्रीमा थापाको दाबेदारी स्वभाविक भएको पनि बताए । उनको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी रहेका नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले जनाए अनुसार महामन्त्री शर्माले ‘सांसद तथा मन्त्री र पार्टीको महामन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको’ रहेको र ‘५० वर्षमुनिको उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक भएकाले आफुहरूबीचमा सिनियर जुनियरको कुरा नहुने बताएका हुन् ।

एक समय शर्मा नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए । अहिले शर्मा र थापा दुबै पार्टीको महामन्त्री छन् । महाधिवेशनमा बढी मत थापाले पाएका थिए । विद्यार्थी राजनीतिमा शर्मा अघि भएपनि संसदीय चुनावमा उनी विजयी हुन सकेका छैनन् । थापा भने पटक पटक सांसद बन्नुका साथै केही समय स्वास्थ्य मन्त्री पनि बनेका थिए ।

महामन्त्री थापाले आगामी निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । उनको यो भनाईपछि कांग्रेसभित्र एकखालको तरंग आएको छ ।

प्रकाशित मिति : असार २६, २०७९ आइतबार  २ : ०७ बजे