श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

पर्यटकको रोजाइमा गुल्मीको भार्से गाउँ (तस्वीरहरु)



गुल्मी—जिल्लाकै सबैभन्दा बढी मगर बस्ती भएको गाउँका रूपमा चिनिन्छ, गुल्मीको भार्से गाउँ । ‘लाहुरे गाउँ’ को रूपमा पहिचान बनाएको भार्सेगाउँमा मगर समुदायको आफ्नै परम्परा, रीतिरिवाज, भाषा संस्कृति छ । मगर समुदायले कला संस्कृतिको पहिचान र गाउँमै पर्यटकलाई थप आर्कषित गर्न बौद्ध स्तुप, फनपार्क निर्माण गरेका छन् ।

पछिल्लो समय भार्से गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यो ठाउँ गुल्मीकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित मनमोहक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तुपा निर्माण भइरहेको छ । समुन्द्री सतहदेखि दुई हजार एक सय ८० मिटर उचाइमा निर्माण भईरहेको स्तुपाको नेतृत्व भार्सेली समाज हङकङले गरेको छ । स्तुपा निर्माणमा भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौंलगायतका संघसंस्था र व्यक्तिले सहयोग गरिरहेको निर्माण समिति अध्यक्ष नरबहादुर बुढाथोकीले बताए ।

स्तुपा निर्माणसँगै भार्से गाउँलाई पर्यटन क्षेत्रमा विकास र पर्यटकलाई आर्कषणका गर्न फनपार्क निर्माण गरिएको छ । भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छे्रलगायतका हिमश्रृङखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङजाको दृश्यावलोकन सकिन्छ । यस गाउँको सुन्दरता र मगरसमुदायसँग रम्न पर्यटकको संख्या दैनिक बढ्दो रहेको स्थानीय सुजन गलामीले बताए ।

कला संस्कृतिको संरक्षणसँगै पर्यटकीय सम्भावना देखेर चार वर्षदेखि यहाँ होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा स्वादिष्ट कोदोको ढिँडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी पाइन्छन् । हाेमस्टेमा आउने पाहुनाको चाहना अनुसार स्थानीय कलाकारले सोरठी, कृष्णचरित्र, झ्याउरे र दोहोरी प्रस्तुत गरेर पर्यटकलाई आनन्दको अनुभुति दिलाउने गर्दछन् । भार्से समुदायले देखाउने प्रस्तुती लुम्बिनी प्रदेशमै प्रख्यात मानिन्छ । स्तुपा र पार्कसँग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान राम पाइलालाई जोडेर पर्यटकीय विकास, यसको संरक्षण र प्रचारप्रसार अगाडि बढाउने लक्ष्य रहेको सत्यवती गाउँपालिका ८ का वडाध्यक्ष होम रानाले बताए ।

स्तुप र फनपार्कले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । पर्यटकले पनि भार्से गाउँलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा लिने गरेका छन् ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ८ : ३८ बजे