भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

ओलीको प्रश्न : हामीले सरकार छाडेपछि कसरी आयात भयो ४९ अर्बको चामल ?



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् ।

अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताएका छन् ।

‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ?’ उनले प्रश्न गरे, ‘यस्तो उर्बर देशमा जहाँ यति हिमाली नदीनाला, उर्बर फाँटहरु छन्, जहाँको जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं, यो अशोभनीय स्थिति हो ।’

सरकारले उपयुक्त नीति नलिएका कारण कृषि क्षेत्र धरासायी हुँदै गएको आरोप ओलीले लगाए । सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन् ।
‘मिल्क होलिडे भनेको के हो ? गाई भैसीले बुझ्छ ?’
अध्यक्ष ओलीले बढी मात्रा दूध उत्पादन भए दूध प्रयोग गरेर चकलेट उद्योग खोल्न वा पाउडर दूध बनाउन आग्रह गरेका छन् । अध्यक्ष ओलीले मिल्क होलिडेको नाममा किसानले उत्पादन गर्ने दूध खेर जान नदिन आग्रह गरे ।

उनले ब्यङ्ग्य गर्दै भने, ‘के हो मिल्क होलिडे भनेको ? भैसीलाई सम्झाउ न, गाईलाई सम्झाउन न मिल्क होलिडे । किसानलाई सम्झाएर हुन्छ ? के हो मिल्क होलिडे भनेको ? मिल्क होलिडे भने दूध दुहेर फ्याँक भनेको हो कि दूध दुहुँदै नदोई साँच भनेको हो ? मिल्क होलिडे भनेको त भैसीले बुझ्नुपर्‍यो नि गाइले बुझ्नुपर्‍यो निआज छुट्टी छ दूध नदेउ भनेर । बुझ्छ त्यसले ? अनि यो दूध खेर फाल भनेको हैन ? डेरीले दूध किन्ने चकलेट फ्याक्ट्री राखे हुँदैन । पाउडर फ्याक्ट्री राखे हुँदैन ?’

अध्यक्ष ओलीले पाउडर फ्याक्ट्री खोलेर मिल्क होलिडेलाई समाप्त पार्न आग्रह गरे । उनले ५ दिन दूध बेच्ने दुई दिन पोख्ने काम हुन नसक्ने बताए । उनले मिल्क होलिडे भनेको दिन भकारो सोहर्नुपर्दैन भैसीको हेरबिचार गर्न पर्दैन भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ६ : २७ बजे