भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्‍यो : कमल थापा



काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित उपत्यकास्तरीय संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए । अध्यक्ष थापाले पार्टीहरूको स्वार्थ पूर्तिको लागि ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताए । साथै अस्थिरताको विकृति हटाउन पनि नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने उनले माग गरेका थिए ।

‘सरकारले स्थायित्वको अनुभूति दिन सकेको छैन । सरकार गठन भएयता देशमा राजनीतिक स्थिरताको अनुभूति जनताले गर्न सकेका छैनन् । रातदिन झगडा छ । पार्टीहरूको स्वार्थ पूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना अहिले भइरहेको छ । यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले यस्तो खालको संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ भनेको छ । मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन । दुइपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ ।’

अध्यक्ष कमल थापाले ‘कमरेड’ शब्द प्रयोग गर्न आपत्ति मान्नु नपर्ने बताएका छन् । कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् । अध्यक्ष थापाले आफूलाई ‘कमरेड’ शब्द धैरै मनपर्ने भन्दै कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने समेत बताए । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको बताए ।

‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो’, अध्यक्ष थापले भने, ‘कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु ।’

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ६ : ०८ बजे