आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

युवा जनशक्तिलाई विकास निमार्णमा परिचालन गरिनेः श्रम मन्त्री कुँवर



काठमाडौं–श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरी विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने बताएका हुन् ।

देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए । जोश जागर र देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफुले समालेको जिम्मवारी पुरा गर्नका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका छन् । साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ६ : ०२ बजे