भाद्र १, २०७९ बुधबार | Thu Aug 18 2022

कोरोना संक्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण



काठमाडौँ – पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नु जस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । ‘भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो’, उनले भने, ‘तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।’

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ । असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् । अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसियु) मा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए । भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ ।

‘सङ्क्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो’, उनले भने, ‘तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ ।’ उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (BA4 jf BA5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए । ‘अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौं, उनले भने, ‘एक-दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ ।’

नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ६७ जनाको नमूना परीक्षण गर्दा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन सय १४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ८७ हजार दुई सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ५ : ३६ बजे