काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मिठो बोलीमार्फत् किसानलाई मल उपलब्ध गराउने बताए पनि त्यो पूरा नगरेको आरोप लगाएका छन् । आज (शनिबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले अलम्याउने काम मात्र गरेको बताए ।
’प्रधानमन्त्रीले अस्ती संसदमा मल आपूर्ति तत्काल गरिनेछ । किसानले मल पाउँछ भनेर मिठो वाणी बोल्नुभयो । तर मलको प्रबन्धन गरिएन । अलमल्याउने काम मात्र भयो,’ उनले भने । सरकारको छक्याउने नीतिले कृषि क्षेत्रको विकास हुन नसकेको उनले बताए । कृषि क्षेत्रमा उत्पादन बढाउनुपर्ने र त्यसका लागि ठूलो लगानी चाहिने उनको भनाइ थियो । ‘ठूलो लगानी नगरिकन कृषि क्षेत्रमा व्यवसायीकरण गर्न सकिँदैन । हामी त्यतातिर पनि जानुपर्छ,’ उनले भने । त्यसैले कृषिमा आधुनिकीकरण जरुरी रहेको र त्यसका लागि पकेट क्षेत्र घोषणा हुनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘सबैभन्दा कम प्रतिफल दिने क्षेत्र कृषि क्षेत्र नै हो । खानेकुरा जस्तो बस्तु उत्पादनको नाफा नोक्सानको हिसाब राख्नै हुँदैन । कृषि भनेको यस्तो पेसा हो जुन सामान्य व्यक्तिदेखि ठूला बढा व्यक्तिमा पनि समान महत्व छ । सानोमा मैले एउटा कविता पढेको थिएँ । ‘पैसा चपाइन्न र अन्न पानी, चाहिन्छ डोको सय थाप दानी’ एउटा डोको भन्ने कविता थियो । त्यसमा पैसा चपाइन्न र अन्न पानीका लागि कृषिमा लाग्नुपर्छ भनिएको थियो ।’
उनले कृषिको महत्व प्रकाश पार्दै थपे, ‘हामी हवाईजहाजमा हिँड्ने हो, हामी महलमा बस्ने हो, हामी हिलामा बस्ने हैनौँ जे भने पनि त्यही हिलोमै फलेको चामल नभई हुँदैन, त्यही हिलोमा फलेको गहुँ नभई हुँदैन । बाँच्नका लागि अन्न चाहिन्छ । यति महत्वपूर्ण कुराको हामीले उत्पादकत्व बढाएर लान सक्छौँ त्यो सोच्न आवश्यक छ । अर्को हामीले ल्याएको सुपरजोनको कन्सेप्ट जसले ठूलो परिणाममा एकै प्रकारका उत्पादनलाई बजारीकरण गर्न सकियोस् भन्ने हो ।’
नेपालमा मानिसहरु घर घडेरी र जमिनको पछि लागेको बताए । नेपालीहरुलाई काठमाडौंमा घर छैनभन्दा लाज लाग्ने अवस्था आएको उनको भनाइ थियो । ‘अमेरिकामा घडेरीको चिन्ता कसैलाई छैन । हङकङमा पनि चिन्ता छैन । उनीहरुले यी कुराको विचारै गर्दैन । किन चाहियो घडेरी भन्छ । त्यहाँ त धनाढ्य मान्छेको मात्र घर हुन्छ,’ उनले थपे, ‘तर नेपालमा घर छैनभन्दा लाज हुन्छ । डेरामा बसिया छ भन्न लाज हुन्छ ।’
उनले सबैको राजधानीमा घर हुनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने औंल्याए । ‘अमेरिकामा राजधानीमै घर हुन्छ सबैकाे ? बेइजिङमा घर हुन्छ सबैको ? दिल्लीमा घर हुन्छ सबैको ? कहीँ पनि हुँदैन त्यस्तो । तर यहाँ राजधानीमा घर छैन भन्नलाई अफ्ठ्यारो हुन्छ,’ उनले भने । उनले नेपालीहरुको जमिनलाई निजी सम्पत्तिको रुपमा मान्दा कृषि क्षेत्रमा उत्पादन बढ्न नसकेको र त्यो टुक्रा टुक्रामा परिणत भएको स्पष्ट पारे ।
प्रतिक्रिया